इहटरीः स्थानीय निकायमा सरकारले घोषणा गरेको चुनाव नजिकिँदै जाँदा इटहरी उपमहानगरपालिकाले भने विधि विपरित विना प्रक्रिया दैनिक ज्यालादारीको नाममा भटाभट नियुक्ति गरेको पाइएको छ । मेयर द्धारिकलाल चौधरीको तोक आदेशमा भटाभट दैनिक ज्यालादारीमा कार्यकर्ता र नजिकका आसेपासेहरुलाई जागिर लगाएका हुन् ।
जनताले तिरेको करबाट पालिएको नगरकार्यपालिका आफ्ना कार्यकर्ता भर्ती गर्न विधिको विरुद्ध लागेको भन्दै सरोकारवालाहरुले नगरपालिकाको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नगरपालिकालाई आवश्यक पर्ने र दैनिक ज्यालादारीमा राख्नु पर्ने पदहरुमा कामदार नियुक्ति गर्न सहज भएकाले योग्यता र क्षमताको धज्जी उडाउँदै नगरपालिकाका पदाधिकारीको सिफारिसमा भटाभट कर्मचारी भर्ती गरिएको पाइएको हो । दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गर्दा योग्यता र क्षमता पुगेकाहरु अवसरबाट बन्चित हुने र चिनजान भनसुन र आफन्तलाई सिफारिसको भरमा नगरपालिकामा जागिर खान सहज हुने भएकाले यो प्रक्रिया नै गलत भएको टिप्पणी सरोकारवालाहरुले गरेका छन् ।
उता स्थानीय तहको चुनाव नजिकिँदै गएकाले उपमहानगरका पदाधिकारीहरु भोटको लोभमा पार्टीका कार्यकर्ता र आफन्तलाई जागिर दिएर लोकप्रिय बन्न खोजेको समेत आरोप लागेको छ ।
नगरपालिकाले नगरभित्रका सबै नागरिकलाई रोजगारको समान हैसियत पुग्ने गरी समान ढंगले विधि प्रक्रिया पुर्यायर कर्मचारीहरु नियुत्ति गर्नुपर्ने भएता पनि बिधि बमोजिम नभई जथाभावी आसेपासेलाइ जागिर दिने प्रक्रियामा आफ्नो पार्टीको सहमति नरहेको नेकपा माओवादी केन्द्र इटहरी नगरकमिटिका अध्यक्ष ज्वाला तामाङ्ग बताउँछन् । दैनिक ज्यालादारीका कामदार राख्ने प्रक्रियानै गलत भएको बताउँदै अध्यक्ष तामाङ्ग भन्छन् “ स्थानिय तहको चुनाव नजिकिँदै जाँदा दैनिक ज्यालादारीको नाममा आफ्ना आसेपासेलाई जागिर दिनु गलत छ यसमा हाम्रो पार्टी सहमत छैन ” प्रदेश पोर्टलसँगको कुराकानीमा तामाङ्गले भने ।
हरेक कुरामा विधि र प्रक्रिया हुने भएता पनि कामदार नियुत्ति प्रक्रियामा बिधि र प्रक्रिया मिच्दा कसरी समतामुलक समाज निर्माण हुन नसक्ने इटहरीका स्थानीय समशेर कार्कीको भनाई छ । पार्टीका मान्छेमात्रै भर्र्ती गरेर न्याय नहुने भएकाले योग्य र असल मान्छेलाई पछि पारेर “झोले” हरुलाई जागिर ख्वाउनु अन्याय भएन र ? कार्कीको प्रश्न छ । त्यसो त नगरपालिकामा जनप्रतिनिधि जित्ने र आफ्नै आसेपासेलाई मात्रै मात्रै जागिर ख्वाउने गर्दा दलहरुको स्वार्थका लागि लडेको सन्देश बजारमा जाने गरेको पाइन्छ ।
उता नेपाली काँग्रेसका नेता रोहित प्रसाईले चुनावी मुखमा विशुद्ध राजनितिक हिसावले जनताले तिरेको कर खर्च गरेर कर्मचारी भर्ना गर्ने काम गैह्र जिम्मेवार भएको बताए । “ उपमहानगरका मेयर तथा उपमेयरले चुनावको मिति घोषणा भईसकेको अवस्थामा दैनिक ज्यालादारीको नाममा पार्टीका कार्यकर्ता भर्ती गरेको सुन्नमा आएको छ,यो नगरपालिकाको बजेट तथा इटहरीबासिले तिरेको करको दुरुपयोग गरेर आफ्नो पहुँच बढाउने काम हो ।” प्रसाईले भने ।
वडा तथा उपमहानगरपालिकाको कार्यलयमा पहिले नै बढि कर्मचारी भएको अवस्थामा पनि थप कर्मचारी कामकाम गराउनु भन्दै पठाइएको समेत पाइएको प्रसाईले बताएका छन् । यसरी जनताको करमा जनप्रतिनिधि खेल्ने काम भइरहेकाले आगामी निर्वाचनमा कस्ता प्रतिनिधि छान्ने भन्ने निर्णय जनताले आफँै गर्नुपर्ने प्रसाइले औल्याए । भाषणका भरमा लाग्दा इटहरीबासिले पाँच बर्ष विना परिणाम गुमाउनु परेको प्रसाईको भनाई थियो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद सुवेदीले यहि हप्ता दमकल चालक, हल्का सवारी चालक सहित केहि कार्यलय सहयोगीलाई दैनिक ज्यालादारीको रुपमा नियुक्ति गरेको स्वीकार गरेका छन् ।
करारमा अप्राविधिक कर्मचारी थप गर्न ऐनले नदिएको साथै करारमा कर्मचारी थप गर्दा नगरपालिकाको स्वीकृत दरबन्दी हेर्नुपर्ने र विज्ञापन गर्नुपर्ने , समय लाग्ने भएकाले केहि अतिआवश्यक पदका लागि दैनिक ज्यालादारीको रुपमा कामगर्ने गरी कर्मचारी राखिएको सुवेदीले प्रदेश पोर्टलसँग बताए । उपमहानगरलाई बगैँचे, पाले, सहयोगी, कुचिकार जस्ता पदमा मात्रै करार कर्मचारी थप गर्न अनुमति छ बाकीँ पदका लागि स्वीकृत दरबन्दी खाली भएर कर्मचारी आवश्यक परे लोकसेवासँग कर्मचारी माग गर्नुपर्ने नियम छ ।
दैनिक ज्यालादारीका कर्मचारी राख्ने सम्बन्धमा जनप्रतिनिधिबाटै सिफारिस भएर आउने र आफुले स्वीकृती दिने गरेको अधिकृत सुवेदी बताउँछन् । “जनप्रतिनिधिहरु स्थानीय भएकाले काम चाहियो भनेर प्राय जनप्रतिनिधि कहाँ नै पुग्नुहुन्छ उताबाट सिफारिस भएर आए र आफुलाई आवश्यक परेको खण्डमा कामकाज गर्न खटाउने गरेको छु ।” सुवेदीले भने ।
वडा कार्यालयहरुले कर्मचारी आवश्यक परेको खण्डमा मात्रै माग गर्ने भएता पनि पहिलेनै २ जना कार्यालय सहयोगी भएको वडामा समेत कामकाज गराउनु भन्दै अर्को कार्यलय सहयोगी पठाइएको समेत पाइएको छ । श्रोतका अनुसार मेयर चौधरीले भर्ना गरेका कर्मचारीहरुलाई इटहरी उपमहानगर कार्यालयमै हाजिर गराउन खोजेका थिए । तर उपमेयरले लिखित रुपमै असन्तुष्टि जनाएपछि मेयरकै योजना अनुसार वडा कार्यालयहरुमा हाजिर गराई काममा खटाइएको छ ।