बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नम्बर १ अध्यक्ष राम थापाले पार्टीबाट अलग हुनसक्ने संकेत दिएका छन् । निवर्तमान अध्यक्ष कमल थापा निकट मानिने उनी वर्तमान नेतृत्वबाट पार्टीको एजेन्डा परिपूर्ति हुन नसक्ने भन्दै राप्रपामा नरहने संकेत गरेका हुन् । पार्टीभित्र कमल थापालाई नियोजित रूपमा अन्याय गरियो, प्रदेश पोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, ‘त्यसको प्रमुख दोषी वर्तमान नेतृत्वको हो ।’उनले पार्टीभित्र त्यागी, सक्षम, जनमत भएको व्यक्तिको कदर नभएको उनले दुखेसो पोखेका छन् । पन्चायत कालदेखी भुमिगत गिरोह अहिले अस्तित्वमा आएर राष्ट्रबादी मान्छेलाई छानीछानी अपदस्त गर्ने काम भयो, उनले भनें ।

वर्तमान नेतृत्वले समेट्न नसक्दा पार्टीभित्र अवसरबादी हाबी भएकाले कमल थापाले पार्टीबाट अलगिने निर्णय लिन बाध्य भएको उनको आरोप छ ।
आज (शुक्रबार) प्रदेश नम्बर १ का नेताहरूसँग आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न तरहरा आएका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल खोल्ने घोषणा गरेका छन् । यसैबीच, प्रदेश १ अध्यक्ष थापालाई कमल थापाले खोल्ने पार्टीमा कहिले जाने भन्ने प्रश्नमा उनले भनेका छन्, फाल्गुनभित्र प्रदेश भरीका १४ जिल्लाका नेतृत्वसहितका नेताहरूसँगको छलफलपश्चात् मात्र निर्णय हुनेछ । अहिले नै कुनै औपचारिक छलफल भइनसकेकोले ठ्याक्कै यसै भन्न नमिल्ने अध्यक्ष थापाले बताएका छन् ।