बराहक्षेत्रः विगत लामो समयदेखि नेपाली साहित्यमा समर्पित स्वर्णिम साहित्य समाजको ट्र्याक बिहिबार बराहक्षेत्रको नडाहामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

 कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ३ का वडाअध्यक्ष रुद्र बहादुर दाहालले सो ट्र्याक स्वर्णिम साहित्य समाजलाई हस्तान्तरण गरेपश्चात वडाअध्यक्ष दाहाल र स्वर्णिम साहित्य समाज बराहक्षेत्र ३ का अध्यक्ष प्रकाश दिप्साली राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । स्वर्णिम साहित्य समाजले सोही अवसरमा स्थानीय रचना वाचनको समेत आयोजना गरेको थियो ।
 सो अवसरमा कविहरु नवराज विष्ट, रोहिता भट्टराई, छबिना लुङ्गेली मगर, रबिन्द्र केदेम, दीपा मग्राती , छबिलाल चौधरी, वर्षा क्षेत्री, सुर्य बहादुर बस्नेत लगायतले कविता वाचन गरे यस्तै गजलकारहरु अच्युत भट्टराई , शारदा निरौला शारु, लक्ष्मण कट्वाल, रामजी दुर्गम विष्ट, बिनय सर्गम, किरण शिवा , सुदिप पाख्रीन लगायतले आफ्ना गजल तथा कविता प्रस्तुत गरे । यस्तै अतिथि कवि दार्जीलिङबाट आएका विशाल नाल्वोले आफ्ना २ वटा कविता फाली र मुन्धुमी भ्यालेन्टाइन डे कविता सुनाए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि बराहक्षेत्र ३ का वडाअध्यक्ष रुद्र दाहालले स्वर्णिम साहित्य समाजले बराहक्षेत्रको चिनारीलाई कला र साहित्यको माध्यमले उचाइमा पुराएको बताए । ‘म यहाँहरुको मायाले जन प्रतिनिधि भएको छु, र मेरो माया फेरि यहाँ हरुलाई नहुने कुरै रहेन । मेरो कार्यकाल भरी म कला र साहित्यलाई जस्तो सुकै सहयोग गर्न नि तयार छु ।’उनले थपे । यस्तै वाचन भएका सिर्जनामाथि आफ्नो धारणा राख्दै कार्यक्रमका वक्ता कवि चन्द्र गुरुङ्ले बराहक्षेत्रका सर्जकहरुको सिर्जनाले आफू मन्त्रमुग्ध भएको बताए । सिर्जनामा सर्जकहरुको उज्वल भविष्य रहेको चर्चा गरे ।
समाजका सह सचिव लक्ष्मण कट्वालले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शरण लिम्बुले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष समाजका अध्यक्ष प्रकाश दिप्साली राई रहेका थिए ।