धरानः स्थानिय तहको चुनाव निश्चित प्रायः भएसंगै धरानमा नेपाली कांग्रेस चुनावी माहोल बनाउन कृयाशिल भएको छ । कांग्रेसले वडाहरुमा टोल भेला आयोजना गरी टोल कमिटि गठन गर्दै चुनाव केन्द्रित गतिविधिमा अगाडि बढेको देखिएको छ ।
कांग्रेस नगर सभापति श्याम पोखरेलले भने शंसोधित विधानमा पहिलो पटक टोल कमितिको व्यवस्था गरेकोले टोल कमिटिहरु गठन अभियान शुरु गरिएको हो । वडा ८ मा सोमवार आयोजित भेलामा उनले भने ‘यो चुनावी टोल समिति होइन् १४ औं महाधिवेशनपछि पार्टीको विधान अनुसार टोल समिति गठन गरिएको हो ।’
पोखरेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरुको संयूक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वार्डको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको बताए । सोही अनुसार वार्डहरुमा टोल समिति गठन भैरहेको उनको भनाई थियो ।
भेलाका प्रमुख अतिथि कांग्रेस सुनसरी–१ क्षेत्रिय सभापति सुजेन्द्र तामाङले धरानको विकासको लागि धरानबासीले कांग्रेसको आवश्यकता जरुरी भएको ठहर गरेको कारणनै उपचुनावमा कांग्रेस विजयी भएको बताउँदै भने ‘कांग्रेसलाई अब पुरा कार्यकाल काम गर्न दिने मनस्थितिमा धरानबासी रहेका छन् ।’
टोल कमिटिको विस्तारका कार्यक्रम संगै पार्टीमा नयाँ सदस्य बढाउने अभियानमा कांग्रेस नगर समिति लागेको छ । सोमवार भएको वडा ८ टोल भेला कार्यक्रमका विच उक्त वडामा विभिन्न पार्टीमा रहका १४ जना कांग्रेसलाई प्रवेश गराइएको छ ।
कांग्रेस प्रवेश गर्नेहरुमा राजकुमारी गजमेर, देविका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समिप खड्का, प्रशान्त राई, राजिव तामाङ, बिजु भूजेल, आषिश खान, सहनबाज खान, अनिष लिम्बु, अस्मित मगर, रेस्मा घिमिरे, देबिका राई रहेका छन् ।
भेलामा कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका मेयर तिलक राइ धरानको खानेपानीको प्राविधिक समस्या चाँडै समाधान हुने बताए । खानेपानी समस्यामा प्राविधिक कारण देखिएकोले समाधान गर्न रातविरात खटिरहेको बताउँदै उनले खानेपानीको पाईपलाईनमा लिकेज भएकोलाई वेल्डिङ गरेर टाल्ने कामहरु पनि निरन्तर रुपमा भईरहेको बताए । मेयर राईले भने ‘खानेपानी संस्थान र ठेकेदार मात्र हुँदाखेरी महिनौ लाग्थ्यो अहिले हाम्रो कर्मचारीहरुले रातको समयमा पनि काम गरिरहेको छ ।’