बराहक्षेत्रः ग्रामीण पत्रकार समूह बराहक्षेत्रले १४ जनालाई सम्मान गरेको छ । आफ्नो चौथो स्थापना दिवसको अवसरमा सहयोगदाता सम्मान तथा पत्रकार बधाई ज्ञापन गरेको हो ।
आज (सोमबार) चक्रघट्टीमा सम्पन्न भएको कार्यक्रममा संस्थालाई आवश्यक बखत सहयोग गर्ने चतरा सामूदायिक सहकारी संस्था, सिद्वार्थ मेमोरियल इङलिस स्कुल, बराहक्षेत्र ३, ६ र ७ नम्बर वार्ड कार्यालय, संस्थाको अक्षयकोषका लागि सहयोग गर्ने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, चतरा उधोग बाणिज्य संघ, बराहक्षेत्र नगरपालिकालाई कदर पत्रले सम्मान गरेको छ ।
त्यस्तै, ग्रामीण पत्रकार समूहले आजै पत्रकार पुरस्कारका निम्ति अक्षयकोष स्थापनाको औपचारिक घोषणा समेत गरेको छ । जसअन्तर्गत पवन अधिकारीले यसअघि नै २५ हजार ५ सय प्रदान गरिसकेका छन् भने आज भएको कार्यक्रममार्फत स्थानीय अर्जुन श्रेष्ठले ५ हजार कोषमा प्रदान गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष हिरण्य कार्कीले सभादक्ष्यतामा पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्काको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमले नेपाल पत्रकार महासंघको गत चैतमा भएको निर्वाचनमा बराहक्षेत्रबाट सुनसरी जिल्ला सदस्यमा निर्वाचित हुने पत्रकारद्वय सुबिन विश्वकर्मा र संगम बिष्ट तथा केन्द्रीय सदस्यमा निर्वाचित भिषण राईलाई बधाई समेत व्यक्त गरेको छ । त्यसैगरी सुनसरी जिल्ला अध्यक्ष जनकऋषी राई, जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पत्रकारद्वय इकबाल अहमत र अमर खड्कालाई समेत बधाई पत्रले सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष बाबुराम कार्कीले आफ्नो कार्यकालमा संचारग्राम बनाउने उदेश्य राखेको भएपनि कारणवश पूरा हुन नसकेको र यस् कार्यसमितिले सो योजनालाई पूरा गर्न सुझाए ।
त्यसैगरी संस्थाका संस्थापक सचिव एबम् प्रेस सेन्टर सुनसरी जिल्ला सचिव अच्युत भट्टराईले बराहक्षेत्रको पत्रकारिताले गलत बाटो लिदै गरेको चिन्ता व्यक्त गरे । बराहक्षेत्रका पत्रकारहरु राजनीतिक संगठनको लागि उपस्थित हुने तर छाता संगठन ग्रामीण पत्रकार समूहको कार्यक्रममा उपस्थित नहुने गरेको बताए । यहाँका जनप्रतिनिधि र पत्रकारबिचको सम्बन्धको खटपट पनि अन्त्य हुन जरुरी छ, उनले भनें ।
पत्रकारहरुबिचकै राजनीतिकरणले गर्दा समाचारको विश्वसनीयता गुमेको नेकपा एमाले सुनसरीका सदस्य सुरज भण्डारी बताए । कार्यक्रममा बराहक्षेत्र ६ र ७ का वार्ड सदस्य क्रमशः दुर्गादेबी खरेल र पर्शुराम आचार्यले आफ्नो तप्काबाट संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले ग्रामीण पत्रकार समूहलाई वर्तमान नेपाल सरकारका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहयोग गर्नुपर्ने बताए । साथै, आफूले नैतिक, भौतिक र श्रमदान समेत प्रतिबद्धता जनाए । बराहक्षेत्रमा पत्रकारबिचमा हिलो छिपाछेप गर्ने प्रवृत्ति बढी नै छ, उनले भने, बराहक्षेत्रमा किन पत्रकारिता टिक्न सकेन भनेर छलफल आवश्यक रहेको देखिएको उनले बताए ।
त्यस्तै, अर्का विशिष्ठ अतिथि पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषी राईले पत्रकारले लेखेका समाचारको बौद्धिक प्रतिबाद गर्नु जाजय रहेको बताएका छन् ।
प्रमुख अतिथी अमर खड्काले भने एउटा पत्रकारले लेखेको समाचार अर्को पत्रकारले खण्डन गर्नु भनेको पत्रकार आचारसंहिता भन्दा विरुद्ध भएकाले यतातर्फ नलाग्न बराहक्षेत्रका पत्रकारलाई सुझाएका छन् । उनले भनेका छन्, राजनीतिक दलका कार्यकर्ताले गर्ने काम पत्रकारले नगरौं ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष हिरण्य कार्कीले बराहक्षेत्रमा पत्रकारहरुबिचमा राजनीति बढी भएको स्वीकार गरेका छन् । उनले बराहक्षेत्रमा पछिल्लो समय एउटा संगठनको पत्रकारले निकालेको समाचारमा अर्को संगठनले खण्डन गर्ने गरेको, राजनीतिक संगठनको कार्यक्रममा मात्र पत्रकार उपस्थित हुने गरेकाले ग्रामीण पत्रकार समूहले गरेका कार्यक्रमहरु यहाँका पत्रकारका उपस्थिति कम हुने गरेको दुखेसो गरे । अध्यक्ष कार्कीले ग्रामीण पत्रकार समूहले कोरोना महामारीका बिच स्थानीय संचारकर्मीको घरघरमा गएर अबस्थाबारे जानकारी लिइ आवश्यकताअनुसार सहयोग गरेको, ब्याग वितरण, स्थानीय मिडियालाई सहयोग, रक्तदान कार्यक्रम इत्यादी गरेको स्मरण गरे ।