इटहरीः इटहरी उपमहानगरपालिकाले एक बर्ष भन्दा लामो समयदेखि नगरकार्यपालिकाले गरेका निर्णयहरु आफ्नो वेवसाइटमा नहालेको पाइएको छ ।
पारदर्शी प्रशासनको वकालत गर्दै हिड्ने नगरप्रमुखकै उपमहानगरले जनतालाई सुचना दिने कार्यमा कन्जुस्याँई गरेको पाइएको हो । नगर कार्यपालिकाले गरेका हरेक बैठकहरको निर्णय आफ्नो वेवसाइटमा राख्दै आएको उपमहानगरपालिकाले २०७७ पुस १६ गतेदेखि कार्यपालिकाले गरेर निर्णयहरु गुपचुप राखेको हो ।
गत बर्षको पुस १७ गते उपमहानगरको ९० औँ कार्यपालिकाको बैठक बसेको थियो भने त्यहाँदेखि यो सामाग्री तयार गर्दा सम्म एक बर्ष एक महिना ७ दिन सम्म कार्यपालिकाले गरेका कुनै निर्णयहरु सार्वजनिक गरिएका छैनन् ।
उपमहानगरले यसवीचमा गरेका बिभिन्न विवादित निर्णयहरुलाई छुपाउन कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक नगरिएको विरोधिहरुको आवाज छ । तथापि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदीले भने कार्यपालिकाले गरेका निर्णयहरु वेव सााइडमा नराखिने गरेको बताए । सर्वसाधारणले हेर्न चाहे के गर्ने त भन्ने सवालको जवाफमा हेर्न चाहानले आवश्यक प्रक्रिया पुर्याएर कार्यालयमा आएर हेर्न सक्ने सुवेदीको भनाई थियो ।
९० औँ बैठक सम्म वेव साइटमा राखिने गरेको जानकारी गराएपछि भने प्रशासकिय अधिकृत सुवेदीले सुचना प्रविधि विभागले नभ्याएर नराखेको हुन सक्ने जवाफ दिए । आफुले कुन जानकारी राख्नु तथा नराख्नु भनेर निर्देशन नदिएको अधिकृत सुवेदीको भनाई छ ।
इटहरी उपमहानगरपालिकाका सुचना प्रविधि अधिकृत ओसन कुमार चौधरीले भने कार्यपालिका सचिवालयले वेवसाइडमा हाल्नु भनेर आफुसम्म कार्यपालिकाको निर्णयहरु नल्याएका कारण वेवसाइडमा नहालिएको जवाफ दिए । नभ्याएर अथवा अन्य कुनै कारणले नहालिएको हैन त्यो निर्णय सचिवालयले आफुसम्म नपुर्याएका कारण वेवसाइडमा अपडेट नगरिएको चौधरीले बताए ।
कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक नहुँदा नगरपालिकाको पादर्शितामा प्रश्न उठ्ने र नगरले के कस्ता निर्णय गरेर कामकारवाही गर्दैछ भन्ने जानकारी सर्वसाधारणमा नहुने हुन्छ । यस अघि इटहरी उपमहानरपालिकाले ८७ औँ बैठकदेखि ९० औँ बैठक सम्मको निर्णयहरु एक मितिमा वेवमा राखेको थियो ।