इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोना विरुद्धको बुस्टर सहित तीन खाले खोप मंगलबारबाट लगाउने भएको छ ।
उपमहानगरले इटहरीका सबै वडालाई लक्षित गरी यस अघि खोप लगाउन छुट भएका बालबालिका सहित कोभिसिल्डको बुस्टर डोज र भेरोसेल खोपको दोस्रो मात्रा लगाउने तालिका आइतबार सार्वजनिक गरेको छ ।
उपमहानगरले सार्वजनिक गरेको तालिका अनुसार मोर्डना खोप लगाउन छुट भएका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई भोलि माघ २५ गते हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकी, एकम्वा स्वास्थ्य चौकी र इटहरी अस्पतालमा लगाइने भएको छ ।
यसै गरी उपमहानगरले २०७८ असार मसान्तसम्म कोभिसिल्डको खोप लिएका सबै नागरिकलाई कोभिसिल्डको बुस्टर डोज दिने भएको छ । कोभिसिल्डको बुस्टर डोज दिने कार्यक्रम उपमहानगरले माघ २६ गते बुधबारलाई राखेको छ । गत असार मसान्त सम्म कोभिडिल्ड खोपको दोस्रो मात्रा लिएका सबै नागरिकलाई हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकी, एकम्वा स्वास्थ्य चौकी र इटहरी अस्पतालमा कोभिसिल्डको बुस्टरडोज लगाइने कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी भेरोसिलको दोस्रो मात्रा समेत लगाउने कार्यतालिका सार्वजनिक भएको छ । भेरोसेलको पहिलो डोज लगाएको २१ दिन पुरा भएका सबै नागरिकले भेरोसिलको दोस्रो डोज लगाइने उपमहानगरको कार्यतालिका छ । भेरोसिलका लागि उपमहानगरले माघ २७ गते को तालिका सार्वजनिक गरेको छ ।
भेरोसेल खोपका लागि इटहरीको २ नम्बर वडा कार्यालय, आधारभुन स्वास्थ्य केन्द्र इटहरी ३, आधारभुत स्वास्थ्य केन्द्रको भवन इटहरी ४ खानोपानीको कार्यालय छेउ, आधारभुत स्वास्थ्य केन्द्र इटहरी ७, आधारभुत स्वास्थ्य केन्द्र इटहरी ८, जनता स्कुल सानो इटहरी ९, हाँसपोसा स्वास्थ्य चौकी , शारदा उमावि इटहरी १२ खनार, पकली स्वास्थ्य चौकी र एकम्वा स्वास्थ्य चौकीमा भेरोसिलको दोस्रो मात्रा लगाइने उपमहानरको कार्यक्रम छ । खोप लिन आउने नागरिकले परिचय खुल्ने नागरिकता वा अन्य सरकारी कामजात लिएर उपस्थित हुन उपमहानगरको अनुरोध छ । बुस्टर डोज र दोस्रो मात्रा लिने नागरिकले पहिलेको खोप कार्ड समेत लिएर आउने अनुरोध गरिएको छ ।