विराटनगरः प्रदेश १ सरकारमा आज थप ८ जना मन्त्रि थपिएका छन् । उनिहरुले मुख्यमन्त्रीको सिफारिसमा शपथ ग्रहण समेत गरेका छन् । थप ८ सहित अब प्रदेश १ सरकार एक राज्य मन्त्री सहित १४ सदस्यीय भएको छ ।
मुख्यमन्त्रीका अनुसार नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राई सामाजिक विकास मन्त्री बनेका छन् । खिनु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् ।
प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली काङ्गेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङमाङले भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बनेका छन् । राईले खानेपानी सिँचाई, तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।
जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहेकी छन् । यसैबीच आज विस्तार भएको प्रदेश १ को मन्त्रिमण्डलमा आफ्ना पक्षका एक जना पनि मन्त्री नपरेको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएका छन् ।