विराटनगरः प्रदेश नम्बर–१ मा अहिले केही बेरमा थपिएका मन्त्रीहरुले सपथ लिँदैछन् । मुख्यमन्त्री राजेन्द्र राईले जिम्मेवारी दिने मन्त्रीहरुको ११ बजे शपथग्रहण तय भएको छ । विस्तारित मन्त्रिपरिषद् अब १४ सदस्यीय हुने मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
नयाँ थपिने मन्त्रीहरुमा नेकपा एकीकृत समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे, खिनु लङवा लिम्बू र राजन राई मन्त्री बन्ने बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्री बन्ने बुझिएको छ ।
कांग्रेसबाट प्रताप प्रकाश हाङगाम, ओमप्रकाश सरावगी र शेखरचन्द्र थापा मन्त्री बन्दैछन् । सरागवी नेपाली कांग्रेसका कृष्ण सिटौला, हाङगाम र थापा पार्टी सभापति शेरबहादुर देवाउ निकट हुन् ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले मन्त्रीहरुको नाम केन्द्रबाट नै तय भएर आएको बताउँदै भने, “भोलिका दिनमा राज्यमन्त्री पनि थप हुन सक्छन् ।”
अब प्रदेश–१ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास विकास मन्त्रालय, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, उद्योग श्रम तथा रोजगार मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि सहकारी तथा यातायात मन्त्रालय हुनेछन् ।