इटहरीः सुनसरी जिल्लाको लौकही नजिकैको खुनिया पुलमा शुक्रबार बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका तीन जनाकै पहिचान खुलेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसा दुर्घटनामा परेर झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ४५ वर्षीय सरोज राई, भारत पश्चिम बङ्गाल बस्ने २५ वर्षीय निहाल प्रधान र बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको हो ।
मृत्यु भएको भनिएका सरोज राई दुर्घटना भएको बसका चालक हुन भने निहाल प्रद्यान सोहि बसमा यात्रा गरिरहेका यात्रु हुन । अर्का मृतक शेख फिरोज भने ट्रक चालक रहेको प्रहरीले बताएको छ ।
झापाको काँकडभिट्टाबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको सिमेन्ट लोड गरिएको ना ५ ख २९९६ नम्बरको ट्रक शुक्रबार एक अर्कामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेरका तीनै जना सवारीसाधनभित्रै च्यापिएका थिए ।
सवारी साधनमा आगलागी भएका कारण समयमै उद्धार गर्न नसक्दा तीनै जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा ट्रकका सहचालक बारा निजगढ–९ का ४३ वर्षीय दीपक श्रेष्ठसहित बसमा यात्रा गरिरहेका २७ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अधिकाँश घाइतेको विराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ भने १७ जना घाइते सामान्य उपचार पछि बिहानै डिस्चार्ज भइसकेका छन् ।