सिन्धु  पौडेल 
एउटा गीत बज्दै गर्दा सँगसँगै झमझम गाउने र छमछम नाच्नेहरु त्यसैको वरिपरी झुमिरहेका हुन्छन्।  गीत सफल होस् या असफल, संरचना र निर्माणका आधारभूत प्रक्रियाहरु एकै हुन्छन्। देखिने र सुनिने रुपमा गाउनेहरु अग्रभागमा प्रकट भए पनि गौण तथा अदृश्य रुपमा अहम् भूमिका खेल्नेहरु थुप्रै हुन्छन् कुनै पनि गीत-सङ्गीतमा। समयको माग, जनचाहना र भाग्यवश कुनै गीत हिट हुन्छन् तर संयोजन,सिर्जना र निर्माणको हिसाबले अब्बल नै भए पनि कुनै गीतले जनस्तरमा आफ्नो फैलावटलाई व्यापक बनाउन सक्दैनन् दुर्भाग्यवश।  फलत: श्रष्टाहरु निरासाको गर्तमा भासिन पनि पुग्दछन्।  कुनै गीत-सङ्गीत निर्माणको प्रथम चरण शब्द हो र यसको पहिलो तथा प्रमुख श्रष्टा पनि शब्दाकार अर्थात गीतकार हो।  तर, यिनै प्रथम र महत्वपूर्ण मानिएका सर्जकहरु किन भित्तामा पुर्याइन्छन् ? यहाँ मैले उठाउन खोजेको विषय पनि यहि नै हो।          
 
नेपाली साहित्यको अभिन्न अङ्ग गीत-सङ्गीत।   यहि  क्षेत्र यतिबेला  घरि घरि बिवादमा आईरहेको देखिन्छ,सुनिन्छ।  किन हुन्छ यस्तो ? लापरबाही कसको हो ? राज्यको कि व्यक्ति स्वयँमको ? विषय गहन छ।  पछिल्लो समय गीत सुन्ने भन्दा हेर्ने प्रचलन बढेको छ।  कारण थुप्रै हुन सक्छन्।  पहिलो त प्रविधिको चमत्कारिक विकास नै हुनुपर्छ।  रेडियो, एफएम सुन्ने फुर्सद कसैलाई छैन।  सबैको हात-हातमा मोबाइल छ, इन्टरनेटको पहुँच छ।  युट्युबले सबै सुबिधा उपलब्ध गराएकै छ।  अनि सुन्नुमा भन्दा हेर्नुमा मज्जा पनि छ।  दोश्रो कारण विश्वव्यापी रुपमा फैलीरहेको कोरोना कहर पनि हुनसक्छ।  सिनेमाहरु बन्न छोडे।  गीतमै कथानक भरेर त्यसैलाई दृष्यांकन गरेर चित्त बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति छ।  यतिबेला नेपाली गीतको म्युजिक भिडियो बनाउनेहरुको होडबाजी नै चलिरहेको छ। गुणस्तर भन्दा सख्यामा चलिरहेको प्रतिस्पर्धाले कुनै खास सार्थकता नदिए पनि कतिपयको रोजीरोटी बनिरहेकोमा त्यस्तो गुनासो मान्नु पनि हुँदैन।  मैले चर्चा गर्न खोजेको चुरो कुरा : यति धेरै गीतहरु रेकर्ड र निर्माण भईरहँदा यसको मूल श्रष्टा गीतकार चाहिं किन ओझेलमा भन्ने हो। एउटा गीतकारले गीत नलेखी सङ्गीतकारले धून भर्न सम्भव छ र ? गायक-गायिकाहरुले गाउन सक्लान् ? मोडेलहरुले अभिनय गर्न वा नाच्न सजिलो होला ? यो प्रश्नको जवाफ सायद कसैसँग छैन।  तर पनि नेपाली गीतकारहरुको अवमुल्यन किन यति हदसम्म ? मनमा एउटा सवाल आन्दोलित भैरहन्छ।  एउटा गीत सर्वाधिक सफल र लोकप्रिय हुँदै गर्दा समेत उक्त गीतको जन्मदाता गुमनाम हुनु दुर्भाग्य मात्र होइन घोर अन्याय नै हो।  हाम्रा गायक-गायिका पनि फेरी उस्तै छन्- कन्सर्ट तथा अन्तर्वार्तामा बडो फुर्तिसाथ यो मेरो गीत भन्छन् तर गीतकारको नामै उच्चारण गर्दैनन्। गीतले सफलता हात पार्दै गर्दा उत्तेजित भएर अवार्ड उचाल्न खप्पिस हाम्रा गायक-गायिका प्रस्तुत गीत कसको शब्द हो आफ्नो मानसपटलमा राख्नै चाहँदैनन्।  नेपाली मीडियाहरु पनि उस्तै छन्।  गीतकार कुन चराको नाम हो, हेक्कै राख्दैनन्। उनीहरुलाई गायक-गायिकाकोमात्र गुनगान गाउन पाए भयो ! यो ठुलो बिडम्बना छ नेपाली म्युजिक ईण्डस्ट्रिमा।
       music
नेपाली गीत-सङ्गीतका विषयमा यति बोल्न केहि ताजा प्रसङ्गहरुले अभिप्रेरित गरेका छन् मलाई।  त्यसो त यहि कुरा वरिष्ठ गीतकारहरुको मनमा पनि खट्किएकै रहेछ।  केही समय अगाडि  मात्र साहित्कार गणेश खड्काको फेसबुक वालमा एउटा आक्रामक स्टाटस आयो । उनको भनाइमा गुनासो मात्र थिएन, पीडाबोध पनि थियो।  उनको अभियक्ति प्रतीकात्मक थियो तर समस्त गीतकारहरुको साझा व्यथा भएर आएकोले सबैको प्रश्न पनि बन्न पुग्यो त्यो।  खासगरी प्रवासमा बसेर साहित्य साधना गर्ने श्रष्टाहरुको बाध्यता र समस्या मुखरित भएर आएकोले मेरो पनि ध्यान खिच्यो अरु-अरुको जस्तै।  राम्रा गीत लेख्छन् गणेश खड्का।  रेकर्डिङ्ग र भिडियो निर्माण पनि भएकै देखिन्छ।  केहि समय अगाडी निर्मित उनको एउटा गीतको म्युजिक भिडियो निर्माणको जिम्मा लिएकी एक नाम चलेकी गायिकाले लागत भन्दा झण्डै तिन डबल बढी पैसा असुलेर आर्थिक रुपमा डसिछन् उनलाई। शुक्ष्म अध्ययनबाट थाहा लाग्यो कि ति गायिकाले उक्त परियोजनाको हिसाबकिताब नै देखाइनछिन्।  सम्बन्धित गीतको गायिका समेत रहेकी ति गायिकाको एउटा अन्तर्वार्ता मैले पनि हेर्न भ्याएकी थिएँ - मैले एउटा कुरा नोटिस पनि  गरेकि थिएँ। गीत,गायक,गायिका,सङ्गीतकार,एरेन्जर,प्राबिधिक,भिडियो परिकल्पनाकार आदि सबैको बारेमा दोहोर्याई-तेहेर्याई बखान गर्न भ्याएकी उनले त्यहाँ पनि गीतकारको नामो-निशान कतै लिन चाहिनन् अथवा सकिनन् या त भनौ त्यो विवेक उनमा रहेनछ।  मलाई लाग्यो- यी गायिका पनि गीतकारको महत्व र महिमा नबुझ्नेहरुकै ड्याङ्गमा पर्दिरहिछन्।  कवि गणेश खड्काको जस्तो चित्त सबैको दुखेकोछ।  तर, अरु मन बाँधेर बस्न बाध्य छन् , उनले मन खोल्ने साहस गरे।  आउनुपर्ने कुरा आयो भनेर शतप्रतिशतले समर्थन गर्नु नै उनले साझा सवाल उठाएछन् भन्ने कुरालाई प्रमाणित गर्दछ।  उनको यो बौद्दिक हिम्मतलाई मेरो पनि सलाम् !        
 
लेख्ने दौरानमा गीत लेखन मेरो पनि रुचिको विषय बन्दैछ।  प्रवासमा बसेर साहित्य साधना र सिर्जना गर्नु सजिलो छैन।  समयका थुप्रै जन्जिरहरु हुन्छन् , तिनलाई तोडेर लेखिएका रचनाहरु प्रकाशन र रेकर्डिङ्ग नगरे न मन मान्छ न त ति सिर्जनाको सार्थकता नै हुन्छ।  पसिना पोखेर आर्जेको थोरै धनराशीबाट केहि सिर्जना कर्ममा खर्च गर्न चाह्यो, घरादेशमा सहकार्य / संयोजन गर्नेले अस्वाभाविक रुपमा डस्लान् भन्ने डर।  बिदेशमा त पैसाको बोट नै हुन्छ भन्ठान्छन् घरदेशीहरु।  तर, यथार्थ त्यस्तो छैन।  प्रवासीहरुको कथा-व्यथा कस्तो छ ? भनिरहनु पर्दैन। घाम जस्तै छर्लङ्ग छ।  कुरा बुझ्नुपर्नेले नबुझेका हुन्, या बुझीबुझी पनि बुझ पचाएका हुन् !  कुरा यत्ति हो घरभित्र हुनेलाई भन्दा घरबाहिर हुनेलाई घरको माया बढी लाग्दोरहेछ।  जहाँ बसेर पनि आफ्नो भाषा,साहित्य,कला,संस्कृति र सङ्गीतप्रतिको माया र चासोले छोईरहँदो रहेछ।  त्यो आफैमा जायज र स्वाभाविक कुरा हो।  
 नेपाली गीत र गीतकारको बिद्धमान अवस्थाका बारेमा वरिष्ठ गीतकार राजेन्द्र थापा भन्नुहुन्छ - " बिदेशमा बगेको पसिनालाई नाफामुलक भाउमा बिक्रि-बितरण गरेर सुन दिने गीतकारलाई कवाडिको मोल दिन्छन् यहाँ ।" यथार्थ पनि यहि हो ।  एउटा  स्रष्टाको गीत  गाईसकेपछि भिडियो बनाउन गायक-गायिका (कोही अपवाद बाहेक) मोलमोलाइ गरेर नाफामुलक काम गर्छन् वाहवाही  बटुल्छन् , जब उनिहरुको काम सकिन्छ अनि गीतको मूल स्रष्टा चिन्दैनन्। जबकि गीतकारले नै उनिहरुलाइ उनिहरुले गाएको मूल्य दिएर किनिसकेको हुन्छन्। गीतकारलाई रेकर्डिङ्ग लगायत भिडियो निर्माणमा समेत आर्थिक लगानी गर्न लगाएर मुर्गा बनाउने बेथिति नेपालमा मात्रै हो कि अन्ततिर पनि छ ? अध्ययनको विषय बनेकोछ यतिबेला।  मलाई लाग्छ- अन्य देशमा गीतकार ( लेखक ) लाई असाध्यै महत्व दिन्छन्।  शिर्षस्थानमा राखेर "राइटर रेस्पेक्ट" गर्छन् विदेशतिर।  त्यहीं भारतमा हेरौं न, वरिष्ठ होस् या कनिष्ठ लेखकलाई मूल श्रष्टाको रुपमा आदर गर्छन्।  हेय दृष्टि सहनुपर्ने र हेपाहा प्रबृत्ति खेप्नुपर्ने त नेपालमै मात्र हो कि ?
 
गायक-गायिका र सँगीतकारहरुले गीत माग्नु पर्नै वातावरण बन्नु नितान्त जरुरि छ अब।  गीतकार स्वयम् गीतको सस्तो प्रचार गर्दै  मेरो गीत लैजाऊ, गाइदेऊ भनेर जानू नै गीतकारको पनि गल्ती  हुन सक्छ। राम्रो पारिश्रमिक,उचित मुल्यांकन र गीतकारको नामको सम्बोधन हुनुपर्ने सिस्टम राख्ने र त्यहि सर्तमा गीत दिने हो भने गायक-गायिकाले अबश्य पनि सबक सिक्छन् ।
सर्जकहरु पक्कै मर्कामा छन्।  यौटा किताब निकाल्नु पर्यो भने बिदेशमा छ पैसा त झरिहाल्छ नि भनेर बेपर्वाह पैसाको माग गर्छन् । अरे बाबा, बिदेशमा हुनेले त आफ्नो श्रृजना  छपाउला, बजारमा ल्याउला अनि के नेपालमा भएर कमाउनै नसक्ने सर्जकहरुले चाहिं आफ्नो श्रृजना बजारमा ल्याउन के गर्ने ? यस्तो कुरुप संस्कृतिको मारमा आफ्नो रहर पुरा गर्न  किड्नी बेच्ने ? विषय भयावह छ !
 
फेरी पनि प्रसङ्ग साहित्यकार गणेश खड्काको स्टाटसकै: जब त्यो मन छुने अभिव्यक्ती देखेँ  त्यसपछि म धुरन्धर भएर नेपाली गायक-गायिकाहरुको अन्तर्वार्ता हेर्न थाले।  थोरै अपवाद बाहेक प्राय गायक-गायिकाहरुले त गीतकारको नाम नै लिदैनन्।  मेरो गीत अनि फलानाको सँगीत।  एरेन्जर कोहो ? गीतकार को हो? नचिनेरै हो कि नाम बिर्सिएर हो? म रनभुलमा पर्छु। यस्तो सँस्कारले उनिहरुभन्दा पछि आउने नयाँ पुस्ताले कस्तो नैतिक शिक्षा र मर्यादा  सिक्लान् मनभित्र प्रश्नको आँधी चल्छ।
 
यहि विषयमा आधारित एउटा अर्को प्रसङ्ग : सगरमाथा साहित्य प्रतिष्ठानको साप्ताहिककार्यक्रमको ८६औं भागको स्रष्टा र श्रृजना कार्यक्रममा बरिष्ठ  कवि/गीतकार  दिनेश अधिकारीलाई सुन्दै गर्दा वहाँले भन्नु भएको थियो कि,- " लेखन भनेको जिवनको निकास हो । गीतकारले गीत लेखिसकेपछि गायक र सँगीतकारले गीत डिमाण्ड गर्दैनन् गीतकार आफैं खोजेर जान्छ।"
के यो गीतकार हरुको कमजोरी हो त? यदि कमजोरी नै हो भने गहिरो आत्मसमीक्षा हुनु जरुरि छ।  नत्र, रहर सबैलाई हुन्छ आफ्नो सिर्जनाको यथोचित मापन, मुल्याङ्कन र सम्मान।  एउटा सम्पूर्ण गीत बन्न धेरै चरणहरु पार गर्नुपर्छ।  गीत लेखन, सङ्गीत, संयोजन, बाद्दबादन, गायन, निर्माण, प्रबिधि…. सबै।  तर यहाँ उठान गर्न खोजेको कुराको चुरो भनेको चाहिं मूल श्रष्टाको पहिचान र उचित स्थान हो। कमजोरी कहाँबाट भईरहेकोछ, खोज्नु अत्यावश्यक छ।  तर, गायक-गायिका र मीडियाले मात्र चिनिदिए पनि ठुलो न्याय हुनेथियो अनि धेरै राहत मिल्नेथियो गीत र गीतकारलाई।
                                                                                                       -हाल:- ईजरायल