इटहरीः इटहरी उपमहानगरपालिका ५ मा रहेको जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । असार २४ र २५ गते भारतका दुई विश्वविद्यालयसँग सम्झौता गरिएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
कार्यक्रममा प्रस्तुतकर्ता तथा सम्झौताको मध्यस्थकर्ता डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि क्याम्पसको तर्फबाट भारतीय विश्वविद्यालयहरूसँग सम्झौता पहल गर्ने जिम्मेवारी पाएका थिए । उनले सात प्रमुख विश्वविद्यालयमा प्रस्ताव पठाएपनि पाँच वटा विश्वविद्यालयले सहकार्य सहमति जनाएका थिए । तीमध्ये हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे जे टी विश्वविद्यालयसँग औपचारिक सम्झौता भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दा हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा.एच. एल. वर्मा, रजिष्ट्रार डा. विनोद कुमार, सहायक रजिष्ट्रार नवीन कपिल, डा.अरूप गिरी, डा. अभिषेक, डा.वीरेन्द्र सिंह, डा. बाबुरामसहित उपस्थित थिए ।
उक्त सम्झौताले विद्यार्थी र प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक तथा सामाजिक सहकार्य लगायत क्षेत्रलाई समेटेको छ ।
यसैगरी राजस्थानको झुँझुनु जिल्लामा रहेको श्री जे जे टी विश्वविद्यालयका कुलपति डा. देवेन्द्र सिंह ढुल, रजिष्ट्रार डा. अजित कस्वां, डा.अमन गुप्ता, सहायक रजिष्ट्रार श्री कपिल, डा.मधु गुप्ता, डा. इकरामलगायतको उपस्थिति थियो ।
उक्त सम्झौताले संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, सांस्कृतिक तथा शैक्षिक सहकार्य, दीगो विकास कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ ।
सम्झौताका लागि जनता बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्र प्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआइसीटी विभाग प्रमुख मन्दीप भट्टराई र डा.सिटौला सहभागी थिए ।
सम्झौताको अवधि पाँच वर्षको रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । खासगरी ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’को तयारीसमेत गरिने सञ्चालक समिति अध्यक्ष केसीले बताए । कतिपय योजनाहरू रहेपनि विद्यार्थीको शुल्कले मात्रै धान्न गाह्रो छ, उनले भने, क्याम्पसले पहिलोपटक अन्तराष्ट्रियस्तरको सम्झौता गरेको छ ।
यी सम्झौताहरूले जनता बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उनले विश्वास व्यक्त गरे । ‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने सन्देशका साथ गरिएको सम्झौताले नेपाल–भारत शैक्षिक सम्बन्धलाई बलियो बनाउने र क्याम्पसलाई अनुसन्धान तथा नवप्रवर्तनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ ।
साथै, पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले दुई वर्षमा गरेका उपलब्धिसमेत सार्वजनिक गरिएको थियो ।
क्याम्पसले सामाजिक उत्तरदायित्वअनुरूप निजी क्षेत्रसँगको साझेदारीमार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रयास गरेको अध्यक्ष केसीले बताए । खासगरी कक्षा कोठामा सीसी क्यामेरा जडान गरी पठनपाठन निगरानी प्रणाली सुरु गरिएको उनको भनाइ छ । स्थायी प्राध्यापकहरूलाई अनिवार्य रूपमा बिहान ६ देखि १० बजेसम्म क्याम्पसमा उपस्थित हुने नियम लागू गरिएको र प्राध्यापकहरूको काम मूल्यांकन प्रणाली, विषय विभाग प्रमुखको व्यवस्थापन, पोसाक अनिवार्य र प्राध्यापकको तलब वृद्धिजस्ता सुधारात्मक कदम चालिएको उनले उदृत गरे ।
आफूले चुनावी मैदानमा होमिएको समयमै छात्राबास निर्माण गर्ने र उक्त क्याम्पसमा पहाडी जिल्लाबाट अधिकांश विद्यार्थीहरू अध्ययनका लागि आउने भएकाले छात्राबासको मुद्दा उठाएको स्मरण गरे । छात्राबासको लागि इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत साढे चार करोडको बजेट पार्न सफल भएको र हाल एक करोड ४२ लाखको काम सुरु गरिने उनले बताए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।