इटहरीः सुनसरीको लौकहीमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाको सिमानामा रहेको लौकही स्थित खुनिया पुलमा शुक्रबार राति भयानक दुर्घटनामा परी २७ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् भने अन्य १० जनाको बिराटनगर स्थित विभिन्न अस्पतामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा बसमा सवार २७ जना यात्रु घाइते भएका थिए । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
शुक्रबार साँझ दुर्घटना भएको भएता पनि अहिले सम्म मृतकको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । मृतकमध्ये एक जना बसको चालकको सिटमा रहेकाले चालक हुन सक्ने र अन्य एक जना चालकको पछाडीको सिटमा रहेका व्यत्ति र अर्को ट्रकका चालक भएको प्रहरीको बुझाई छ ।
तर अझैसम्म उनीहरुको पहिचान खुल्न नसकेको र पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक साँझ करिव साढे सात बजेको समयमा एक आपसमा ठोक्किएका थिए । घटनाको कारणबारे चालकको असावधानी हुन सक्ने जिप्रका सुनसरीको ठम्याँई छ ।

135d0549-29d2-4b14-b5a5-35873784bfe2
एक आपसमा ठोक्किएका बस र ट्रकमा ठुलो आवाज आएपछि आगलागी सुरु भएको थियो । दुर्घटना हुनासाथ आगलागी सुरु भएपछि उद्धार गर्न गाह्रो भएको थियो । यसरी तत्काल उद्धार गर्न नसक्दा घटनामा जोगाउन नसकी तीन जनाको मृत्यु भएको हो । प्रहरी टोली दुर्घटनालगत्तै घटनास्थलमा पुगेको र स्थानीयको सहयोग लिएर घाइतेहरुको उद्धार थालेको भएपनि आगजनीका कारण उद्धार कार्य प्रभावकारी रुपमा गर्न नसकिएको प्रहरीको भनाई छ ।
उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको र स्थानीयबासिको समेत सहयोग मिलेको थियो । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईं लगायतका सुरक्षा अधिकारी घटनास्थलमै पुगेर घाइतेको उद्धारमा खटिएका थिए । उद्धारको काम जारी रहेका बेला अचानक बस र ट्रकमा आगलागी सुरु भएको बताइएको छ ।
घाइतेहरु बसमा च्यापिएको र अचानक आगलागी हुदा धुवाँको मुस्लो निस्किएपछि उद्धार गर्न गाह्रो भएको प्रहरीको भनाई छ । प्रहरीले बसको सिसा फुटाउँदै भएपनि घाइतेको उद्धार गरेको बताइएको छ । दुर्घटनापछि बस र ट्रकका चालकहरु गाडिभित्रै रहेको र तत्काल तत्काल बाहिर निकाल्न नसकेपछि अचानक आगोलाग्न सुरु भएको र त्यहीँभित्र जलेर उनीहरुको मृत्यु भएको प्रहरी बताउँछ ।

2b5e5608-5b1a-4d71-884e-6f20daf20f5f
बसमा रहेका युवाले उद्धारका लागि बचाउ बचाउ भनेर हार गुहार गरिरहँदा समेत प्रहरीले उद्धार गर्न सकेको थिएन । उनले च्यापिएको आफ्नो खुट्टा काटेर भएपनि आफुलाई बचाउन भनेका थिए । तर आँगोका कारण उनलाई निकाल्न नसकिएको प्रहरीको भनाई छ । उनले बाँच्नका लागि गुहार माग्दा माग्दै एकै छिनमा जलेर ज्यान गुमाएको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् । दुर्घटना र आगलागीबाट दुवै सवारी साधनकामा क्षति पुगेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।