बेलबारीः बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ का लागि नगरसभाबाट पारित गरेको ‘दुःखमा नगरपालिका’ कार्यक्रमलाई नगरवासीहरुले सकारात्मक र स्वागतयोग्य कार्यक्रमको रुपमा चित्रण गरेका छन् ।
नगरपालिकाभित्र मृत्यु हुने हरेक नागरिकका घरमै पुगेर नगरपालिकाका मेयर, उपमेयर,वडाध्यक्षसहित सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा मृतकप्रति समवेदना र कम्तीमा फलफूल खानसम्म सहयोग पुग्ने हेतुले नगद रु पाँचहजार प्रदान गरिदैँ आएको छ । सोही क्रममा बिहिवार वडा नं २ का मृतकहरु रनमाया पराजुली र यमबहादुर कटवालका परिवारलाई समवेदना प्रदान गर्न पुगेका वडाध्यक्ष घनश्याम गौतमले पुगेका छन् ।
नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुली भन्छिन्–‘ परिवारको सदस्य तथा आफन्त गुमाउनुपर्दाको असह्य पीडाले छटपटाइरहेको बेला आफूले निर्वाचित गराएका जनप्रतिनिधिलाई आफ्नै घर आँगनमा भेट्दा नागरिकहरुलाई थोरै भएपनि सान्त्वना हुन्छ । अर्को तर्फ बिपन्न र कमजोर आर्थिक अवस्था हुने नागरिकहरुलाई नगरपालिकाले प्रदान गर्ने पाँचहजार सहयोगले पनि केहि समस्या टार्न थप सहयोग गरेको छ भन्ने हामीलाई लागेको छ ।’
नगरपालिकाले गर्ने सहयोग सानो भएपनि नगरवासीले राहत महशुस गरेको आफ्नो बुझाई रहेको उपमेयर पराजुलीले बताइन् । ‘दुःखमा नगरपालिका’ कार्यक्रमले नगरवासीको मन जितेको उपमेयर पराजुलीको दावी छ । उनका अनुसार आर्थिक बर्ष ०७८/०८९ मा बेलबारी नगरपालिकाभित्रका चार सयभन्दा बढी मृतकका परिवारमा त्यसरी नै सहयोग लिएर नगरपालिका पुगिसकेको छ । त्यती मात्रै होइन, बेलबारी नगरपालिकाले कोभिडबाट मृत्यु हुने नागरिकका परिवारलाई समेत रु पचाँस हजारका दरले नगद आर्थिक सहयोग गर्दै आएको उपमेयर पराजुलीले बताइन् ।