इटहरीः सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको एक होटलमा भएको सामुहिक बलात्कारको घटनाको छानविनमा आलटाल गरेको भन्दै प्रहरीमाथि नै प्रहरीले छानबिन सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा घटनाको प्रारम्भिक अनुसन्धानदेखि नै घटनामा लापरवाही गर्ने पीडितलाई दवाउन खोज्ने प्रहरीमाथि छानबिन भइरहेको प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बेलबारीसहित तीनवटा युनिट र त्यहाँका इन्चार्जमाथि छानबिन गरिरहेको थालेको छ ।
बलात्कार घटनाको सुरुदेखि छानविनमा खटिएका एक जुनियर प्रहरी अधिकृतलाई जिल्ला प्रहरी कार्यालय मोरङ तानेर छानविनमा राखेको र अन्य दुई जनामाथि लिखित स्पष्टिकरण सोधिएको प्रहरी स्रोतको भनाई छ ।
सुन्दरहरैँचा नगरपालिकाको बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा माघ ७ गते राती बेलबारी घर भएकी एक महिलामाथि तीन जनाले सामूहिक बलात्कार गरेका थिए ।
बाटो भुलेकी महिलालाई बेलबारी घर पुर्याइदिने भन्दै होटल सञ्चालक सुन्दरहरैँचा–४ का अर्जुन भनिने हिमबहादुर श्रेष्ठ, उनका भाइ सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीले सामुहिक रुपमा बलात्कार गरेका थिए । घटना पछि महिलाको यौनाङ्ग क्षतविक्षत भएर अत्याधिक रक्तश्राव भएपछि बेहोस समेत बनेकी थिइन् । घटना पछि बलात्कार पीडित महिलालाई आफन्तको दवाव र सक्रियतामा उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
घटनामा आवद्ध तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने उनिहरु विरुद्ध जरबजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । घटनाका मुख्य व्यत्ति मानिएका होटल सञ्चालक मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी भएको थाहा भएको छ । उनका विरुद्धमा सुनसरी अदातलमा मानव बेचविखनको मुद्धा विचाराधीन छ ।
प्रहरीका लागि फरार मानिएका श्रेष्ठ बलियामा होटल सन्चालन गरेर बसेका थिए । यो कुरा पनि प्रहरीसँगको सेटिगँमा भएको हुन सक्ने आशंका गरिएको छ । उनको होटल भएको स्थान र इलाका प्रहरी कार्यालय इटहरीको दुरी करिब डेढ किलोमिटर जति छ । र पनि फरार सूचिमा रहेका उनलाई इटहरी प्रहरीले पनि पक्राउ गर्नमा चासो नदेखाएकोमा प्रहरी संगठन भित्र नै अनेकन शंका आशंकाहरु पैदा भएको प्रहरी स्रोतको भनाई छ । मोरङ्ग प्रहरीका अनुसार सामूहिक बलात्कारको घटनापछि अस्थायी प्रहरी चौकी बलियाका इन्चार्ज असई (सहायक निरीक्षक) प्रल्हाद बोगटीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनको ठाउँमा बलियाको इन्चार्जका रूपमा असई केशव ओख्राबुलाई खटाइएको छ ।
त्यसै गरी प्रहरी चौकी गछियाका इन्चार्ज रहेको प्रहरी नायव निरीक्षक दुर्गा पोमु र इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालमाथि पनि छानबिन भइरहेको जिप्रका मोरङ्गको स्रोतले बताएको छ ।
प्रहरीले घटनाको आलटाल गर्न घटना बाहिरिएको १० घण्टापछि मात्रै घटनास्थल मुचुल्का उठाउन टोली खटाएको , घटनास्थलमा मुचुल्का टोली पुग्दा कामदारले होटल सफा गर्दै बलात्कारसम्बन्धी जघन्य अपराधको प्रमाणहरू नष्ट गरिसकेका लगायतका लापार्वाही भएको पाइएको छ । घटनास्थलनजिकै अस्थायी प्रहरी चौकी बलिया र त्यहाँबाट केही पूर्वतर्फ प्रहरी चौकी गछिया भएता पनि जानाजान अभियुक्त पक्षलाई प्रमाण मेटाउन समय दिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले दावी गरेका छन् ।