बराहक्षेत्रः अनेकन विवाद र असन्तुष्टीको रस्साकस्सीका बिच चक्रघट्टी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२२ का लागि दिवस बिष्टको अध्यक्षतामा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष लोमनाथ दाहाल (लोमस), कार्यकारिणी उपाध्यक्षद्वय दिपक रौनियार र तेज बहादुर पुरी (सन्तोष) निर्विरोध चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरु मौसम न्यौपाने, अर्जुन तामाङ (शिशिर), रबिन शाशंकर र रमेश बस्नेत चयन हुँदैगर्दा फुर्वा तामाङ जनसम्पर्क अधिकारीमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सोमबार चयन भएको नयाँ कार्यसमितिप्रति वर्ष २०२१ को कार्यसमिति (बोर्ड) भने असन्तुष्ट देखिएको छ । अध्यक्ष बिष्टलाई सर्वसम्मतीले अध्यक्ष मानिएको भएपनि अन्य केहि पदमा जबर्जस्ती नेतृत्व चयन गरिएको आरोप लगाइएको हो । निवर्तमान अध्यक्ष तिर्थराज भट्टराई, महासचिव लोमनाथ दाहाल (लोमस), उपाध्यक्ष प्रवीण बुढाथोकी, कोषाध्यक्ष सन्जयबाबु अधिकारी लगायतले निर्वाचन समितिद्वारा एकलौटी निर्णय गरिएको, बिधिसंवत नेतृत्व चयन नभएको र कसैलाई काखा– कसैलाई पाखा लगाउने परिस्थिति आफूहरूलाई मान्य नहुने बताएका हुन् ।
कार्यकारिणी उपाध्यक्ष पदका लागि परेको ४ जनाको उम्मेद्बारीमा निर्वाचन समितिले उमेदवार नोना ढुंगेललाई जबर्जस्ती पछि सारेको असन्तुष्ट पक्षको गुनासो गरेको छ । त्यस्तै, कार्यकारिणी पदकै लागि उम्मेद्बारी दिएकी मौसम न्यौपानेलाई उमेदवारको नाम फिर्ता लिने समय पश्चात् उपाध्यक्ष पदमा कसरी चयन गरियो भन्ने प्रश्न समेत गरिएको हो । यद्यपि निर्वाचन समितिले सहमती र सहकार्यको निम्ति केहि बिधिलाई मान्न नसकिएको स्विकार गरेको छ ।
जनसम्पर्क अधिकारीका उमेदवार सुरज काफ्लेले भनेका छन्,–‘मलाई थाहै नदिइ मेरो नाम उमेदवारीबाट हटाइ अर्कै व्यक्तिलाई जबर्जस्ती चयन गरियो ।’ पुर्व अध्यक्ष मन्जु आचार्यको अध्यक्षता पुर्व अध्यक्षहरु कमलनाथ दाहाल, दिनेश पोखरेल, रमेश कार्की, निस्चल बस्नेत र सन्तोष चौलागाई रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिले अनेकन सहमतिका प्रयास गराउँदा समेत असफल भएपछि मिलाएर लैजाने प्रयास गरेको बताएको छ ।
यसैबीच असन्तुष्ट रहेका पक्षले भने अध्यक्ष बाहेक विवादित रहेका पदहरुका लागि निर्वाचन गरिदिन माग गरेका थिए । वर्ष २०२२ ले सोमबार नै पुर्णता पाउनुपर्ने समय म्याद रहेको हुँदा निर्वाचन नगरी सहमति र एकताको सन्देश दिने हेतुले कार्यसमिति चयन भएको बुझिएको छ ।