इटहरीः सुनसरी जिल्लाको बर्जु गाउँपालिका स्थित बर्जु ताल क्षेत्रमा भएको महोत्सवमा गत माघ ४ गते भएको आँगजनी र तोडफोड घटनाको दोषी स्वयम् आयोजक बर्जु सामुदायिक विकास केन्द्र भएको निष्कर्ष छानविन समितिले निकालेको छ ।
भारतको बिहारका कलाकार खेसरीलाल यादव आउँने भन्दै आयोजकले प्रचार प्रसार र टिकट बिक्रि गरेको तर कलाकार नआएपछि उत्तेजित भिडले तोडफोड र आँगजनी गर्दा झण्डै २ करोडको नोक्सानी भएको खबर बाहिरिएको थियो ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिको निर्णय अनुसार कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यलय सुनसरीले पत्राचार गरेको भएता पनि आयोजक तथा प्रायोजक समेत रहेको बर्जु सामुदायिक विकास केन्द्रले प्रशासनको आदेशलाई बेवास्ता गर्दै कार्यक्रम नरोकेपछि क्षति भएको थियो ।
क्षतिका सम्बन्धमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिको सयुक्त बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको छानविन समितिको निष्कर्ष अनुसार कोभिड संक्रमण नियन्त्रण गर्न गरिएको आदेश पालना गर्ने जिम्मेवारी सबैको भएकाले दोषी बर्जु सामुदायिक विकास केन्द्र ठहरिएको हो ।
घटनामा २ जना प्रहरी कर्मचारी समेत घाइते भएको र इलाका प्रहरी कार्यलय दुहवीको गाडीमा समेत सामान्य क्षति पुगेकोले त्यसको लागि कानुनी कारवाही अगाडी बढाइने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ ।