इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले आजबाट लागु हुने गरी स्मार्ट लकडाउन गर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण सुनसरी जिल्लामा समेत संक्रमण दर पचाँस प्रतिशत माथि रहेको भन्दै प्रशासनले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यावस्थापन समितिको सिफारिसका आधारमा भोली माघ १८ गते बाट लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि लागु गरिएको जिल्ला प्रशासन कार्यलय सुनसरीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
प्रशासनले माघ मसान्तसम्म प्रशासनले सिनेमा घर, डान्स बार, दोहोरी, क्लब हेल्थ, फुटसल, हाटबजारलगायत भिडभाड हुने क्षेत्रहरु सञ्चालन गर्न नपाउने आदेश गरेको छ ।
त्यसैगरी धार्मिक तथा साँस्कृति जात्रा, पर्व, विवाह, न्वारानलगायत २५ जनाभन्दा बढी नहुने गरि जनस्वास्थ्यको मापदण्ड पालना गरेर स्थानीय प्रशासनलाई पुर्वजानकारी गराएर मात्र आयोजना गर्न पाइनेछ । विभिन्न सेवा प्रदायक निकायमा सर्वसाधारण सेवाग्राहीले कोभिडविरुद्धको खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने पनि व्यवस्था गरिएको छ । सपिंग मल, डिर्पाटमेन्ट स्टोर, सुपर मार्केटलगायतमा एक पटकमा २५ जना भन्दा बढी हुन नहुने पनि आदेशमा उल्लेख छ ।
यस्तै, रंगशालामा दर्शकसहित नगरी नहुने पुर्वानिर्धारित खेलकुद कार्यक्रम एक पटकमा कुल क्षमताको एक तिहाई मात्र दर्शक उपस्थित रहने गरि सञ्चालन गर्न पाइनेछ । रंगशालामा खोप कार्डको आधारमा मात्र दर्शक प्रवेश गर्न दिइने पनि उल्लेख छ । यसैगरि, होटल रेष्टुरेष्टहरुमा खोप लगाएको कार्ड वा २४ घण्टाभित्र एन्टिजेन परीक्षण नेगेटिभ रिपोर्ट आएका सेवाग्राहीहरुलाई मात्र चेक इन गर्न दिने, सबै प्रकारका रेष्टुरेष्टमा लाइभ म्युजिक पुर्णरुपमा रोक्का गर्ने र राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ ।