इटहरीः खोटाङ्ग जिल्लाको बराहपोखरीमा रहेका ६ वटा सामुदायिक विद्यालयले अघिल्लो आर्थिक बर्षमा निकासा भएको छात्रवृति रकममा अनियमितता भएको आशंका गरिएको छ ।
बराहपोखरी गाउँपालिकाले पेश गरेको गोश्वारा भौचर नम्बर ४६।०७७।०१।१६ मा देखाइए अनुसार ६३ हजार ६ सय रुपैँया बराबरको रकम निकासा भएपनि वितरण भने नभएको महालेखा परिक्षकले औल्याएको छ । परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदन अनुसार बराहपोखरी गाउँपालिकाका जनचेतना प्रावि, भानुभत्त आवासिय विद्यालय , साउनेचउरमा रहेको जनविकास मावि, शखेश्वरी मावि, मंगलादेवी प्रावि र डाँडाखर्च प्राविले निकासा भएको भन्दा कम विद्यार्थीलाई छात्रवृति रकम प्रदान गरेको खुलेको छ ।
रिपोर्ट अनुसार २०७७ साल बैसाख १६ गते उत्त रकम निकासा भएको थियो । जसमा जनचेतना प्राविले ४ सय रुपैँयाका दरले २७ जनालाई छात्रवृति रकम वितरण गरेको छ । उक्त विद्यालयका ३६ जना विद्यार्थीलाई निकासा भएको रकम २७ जनालाई मात्र वितरण गरी बाँकी ९ जनालाई वितरण हुनुपर्ने ३ हजार ६ सय रुपैयाँको हिसाव गाउँपालिकालाई देखाइएको छैन् ।
यसैगरी भानुभत्त माविले चार सय रुपैँयाका दरले ८० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । उक्त विद्यालयलाई ९७ जना विद्यार्थीको लागि छात्रवृति निकासा भएकोमा बाँकी १७ जनालाई बाड्ने भनेर निकासा गरिएको ६ हजार ८ सय रकम बेरुजु छ ।
उता बराहपोखरी गाउँपालिका वडा नम्बर ३ को जनविकास माविमा १ सय ६२ जना विद्यार्थीलाई छात्रवृति निकासा भएकोमा १ सय ५३ जनालाई मात्रै वितरण गरेको पाइएको छ । बाँकी ९ जनालाई दिनुपर्ने रकम ३ हजार ६ सय को हिसाव भरपाईमा देखिएको छैन् ।
अर्को शंखेश्वर माविले २ सय ५४ जनालाई दिने भनेर निकासा भएको छात्रवृति रकममा १ सय ८५ जना विद्यार्थीलाई मात्रै छात्रवृति रकम प्रदान गरेको भरपाई पेश भएको छ । बाँकी ६९ जना विद्यार्थीले पाउनुपर्ने २७ हजार ६ सय रुपैँयाको हिसाव गाउँपालिकालाई देखाइएको छैन् ।
बराहपोखरीको अर्को सामुदायिक विद्यालय मंगलादेवी प्राविले ४५ जनालाई निकासा भएको छात्रवृति रकम २९ जनालाई मात्रै वितरण गरेको पाइएको छ भने १६ जना विद्यार्थीको लागि भनेर निकासा भएको रकम बेरुजु छ ।
उता डाँडा खर्क प्राविले ७७ जना विद्यार्थीलाई भनेर निकासा गरेको छात्रवृति रकममा ३८ जनालाई वितरण गरेको भरपाई पेश भएको पाइएको छ भने बाँकी ३९ जना विद्यार्थीको लागि निकासा भएको १५ हजार ६ सय रुपैँयाको हिसावकिताव विद्यालयले गाउँपालिकालाई बुझाएको छैन् । यसरी गाउँपालिकाका ६ वटा विद्यालयले ६३ हजार ६ सय रुपैँया भरपाई भन्दा बढि खर्च गरेका छन् ।
महालेखा परिक्षकको कार्यालयले सो रकम विद्यालय वा जसले अनियमितता गरेको हो उसँग असुलगर्न निर्देशन दिएको छ ।