इटहरीः प्रदेश १ सरकारले आफ्नो राजधानी रहने विराट क्षेत्रभित्र प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न थालेको छ । प्रदेश एक सरकारको मन्त्री परिषद्को आइतबार बसेको बैठकले प्रदेशका मन्त्रालयका संरचना निर्माणको लागि जग्गा व्यवस्थापन गर्न कार्यदल समेत गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुको जानकारी गराउँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको जानकारी दिएका छन् ।
कार्यदलको जसको सदस्यमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका प्रमुख र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहने छन् ।
प्रदेश राजधानी कहाँ राख्ने भन्ने व्यापक विरोधका बावजुत प्रदेश सरकारले विराट क्षेत्रभित्र मन्त्रालय संरचना रहने गरी राजधानी रहने निर्णय गरेको भएपनि हाल सबै मन्त्रालयका भौतिक संरचनाहरु बिराटनगर केन्द्रित मात्रै छन् ।
नव गठित कार्यदलले भौतिक संरचना बन्ने ठाउँ र जग्गाको टुगोँ लगाएपछि मन्त्रालय भवनहरु बनाउन प्रदेश सरकारलाई बाटो खुल्नेछ ।
देश संघीय संरचनामा ढालिए पनि प्रादेशिक संचरनाहरु निर्माण नहुँदा प्रदेशका मन्त्रालयहरु कोही निजि भाडामा त कोही सरकारी संरचनामै भाडामा बसिरहेका छन् । यसरी लामो समय भाडामा बस्दा आफ्नो संरचनाको अन्यौलता त छंदै छ अर्कोतिर भाडामा पनि मोटो रकम प्रदेश सरकारले खर्च गरिरहेको पाइएको छ ।