इटहरीः प्रदेश एक सरकारले फजुल खर्च घटाउन प्रदेश सरकारका सबै मन्त्रीहरुको निवास सरकारी भवनमै बनाउने भएको छ ।
जनतासँग मुख्यमन्त्री कार्यक्रमको छायाँकन कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले खर्च कटौतिका लागि आफु आएदेखिनै पहल गरेको र अहिले फजुल खर्चका पुजाआजा, स्वागत सत्कार जस्ता कार्यक्रम कटौती गरेको बताएका हुन् ।
खर्च खटौती गर्ने विषय बजेट निर्माण देखिनै गर्नुपर्ने भएता पनि बजेट निर्माणको काम अर्कै सरकारले गरेको हुनाले आफुले अनावश्यक देखिने कार्यक्रमहरु कटौती गर्दै लगेको मुख्यमन्त्री राईले बताए ।
प्रदेश एक सरकारले सरकारको खर्च कटौतीका लागि नयाँ सवारी साधन खरिद देखि लिएर अनावश्यक रुपमा सरकारलाई आर्थिक भार पार्ने कार्यक्रमहरु हटाउँदै लगेको मन्त्री राईले बताए ।
ठुलो खर्च देखिएकोले प्रदेश सरकारले काठमाण्डौमा बनाएको मुख्यमन्त्री सम्पर्क कार्यालय हटाएको र प्रदेशका मन्त्रीहरुलाई पनि सकेसम्म सरकारी निवासमा राख्नेगरी काम गरिरहेको राईले बताए ।
नेकपा एस केन्द्रिय सचिव समेत रहेका मुख्यमन्त्री राईले मन्त्रीको निजि निवासका नाममा भाडामा निजि घरहरु लिँदा बढि आर्थिक भार व्यहोर्नु परेकोले अव त्यस्ता काममा खर्च नगर्नेगरी प्रदेश सरकारले निवासका लागि भवन तयारी गरीरहेको बताए ।