इटहरीः मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट शव निकालिएको घटना अनुसन्धानको लागि प्रहरीको एक टोली काठमाडौँ गएको छ । शव भेटिएका दुवैको पहिचान खुलेपछि मृतकसँग नजिक रहेका केही शंकास्पद व्यक्तिको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङको टोली शनिबार(हिजो) काठमाडौँ पुगेको हो ।
भक्तपुरको लोकनथली बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ बर्षीय शम्भु चौधरीको सम्पूर्ण पहिचान खुलेपछि थप अनुसन्धानको लागि प्रहरीको टोली काठमाडौँ पठाइएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण कुमार बिसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङको टिम काठमाडौँ पुगेको हो । ‘मृतक दुवैको सीडीआर (कल डिटेल रिकर्ड) को विश्लेषणपछि मृतकसँग घटना हुनु अघि र पछि कनेक्सनमा रहेका केही व्यक्तिको सोधपुछ र आवश्यक अनुसन्धानको लागि काठमाडौँ पठाएका हौ’ बिसीले अपराध न्युजसँग भने–‘त्यहाँ अपराध महाशाखाको समन्वयमा हाम्रो टिमले काम शुरु गरिसकेको छ ।’
शनिबार मात्र शवको पहिचान खुलेका चौधरीको घर सप्तरी भएपनि उनी प्राय काठमाडौँ बस्दै आएका थिए । मृतक दुवैजना विराटनगरको एक होटलमा लामो समयदेखि बस्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै उनले हत्या कहाँ र किन गरियो ? भन्ने विषयको गहन अनुसन्धान भइरहेको बताए ।
डिआइजी बिसीले हत्याको कारण आर्थिक पक्ष हुनु पर्ने संकेत गरेका छन् । साथै दुवैको सँगै हत्या भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ । मृतक श्रेष्ठ र चौधरी जग्गा कारोबारको साझेदार हुन । श्रेष्ठसँगै चौधरीपनि सम्पर्कविहीन थिए ।
यता घटना अनुसन्धानमा रहेका प्रहरीका अनुसार अपराध (हत्या) भएको स्थान र शव गाडेको स्थान फरक फरक भएको बताइएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले प्रदेश पोर्टलसँग भने –‘अन्य स्थानमा हत्या गरेर शव व्यवस्थापन गर्न उखु बारीमा खाडल खनेर गाडेको अवस्था छ ।’ घटना अनुसन्धानमा १ नं. प्रदेश प्रहरीको अपराध अनुसन्धान टिम (आरआइटी) समेत संलग्न छ ।
बुधबार बिहान उखु काट्ने क्रममा किसानले शंकास्पद खाल्डो भेटाएका थिए । खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा दुई पुरुषको शव बरामद गरेको थियो । घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ ।