इटहरीः मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुई शव मध्ये पहिचान नखुलेका अर्को शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि छ । सो शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय चौधरीको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि धरान ३ का राजेन्द्र कुमार श्रेष्ठको पहिचान खुलिसकेको थियो । उनको शव माघ १३ मा खाल्डोबाट उत्खनन गरिएको थियो ।
मोरङका एसपी जनार्दन जिसीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय बासिन्दा चौधरी काठमाडौंको क्षेत्रपाटी बस्दै आएका थिए । माघ १४ मा अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएको छ ।
४९ वर्षका राजेन्द्र कुमार श्रेष्ठ र चौधरी काठमाडौंबाट एक महिनाअघि सँगै विराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उखुबारीमा चौधरीको शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको थियो ।
श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले भने–‘परिवारसँग एक महिना अघि देखी सम्पर्क भएको देखिँदैन् ।’ राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउँदिन’ भनेर हिँड्ने बानि भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन् ।
उनीहरुको हत्या विराटनगरमै भयो अथवा अरु जिल्लामा हत्या गरेर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे खुल्न नसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । दुवै जना सँगै विराटनगर गएपछि उनीहरु त्यहाँ कहाँ कहाँ बसेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्यामा काठमाडौंमा बस्नेहरु नै संलग्न रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।