इटहरीः डिमाण्ड लेटर ड्राफ्ट गरिदिने तथा पाइलट बनाइदिने भन्दै ठगी गर्ने बाजुराका विष्णु बहादुर कार्कीलाई नेपाल प्रहरीको अपराध अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको अपराध अनुसन्धान व्युरोले जानकारी दिएको छ । पक्राउ गरेका कार्की बाजुरा घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका थिए ।
उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा कैंद र जरिवाना दुवै सजाय सुनाएको छ । कार्कीले अदालतले गत २०७७ माघ ६ गते सुनाएको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा ७ दिन कैंद र रु २७ लाख जरिवाना, जिल्ला अदालत काठमाडौंले २०६० पुस १० गतेको फैसलाले वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैंद र दुई लाख पचाँस हजार जरिवाना, बैकिङ् कसुर मुद्दामा १ वर्ष कैंद सजाय र एक लाख उन्नसाठी हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैंद सजाय र रु ३०,००० जरिवाना चुत्ता गर्न बाँकी छ । कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छुलगायतका बहानामा ठगीसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।