धरानः भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ‘सै हँमा’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।
‘सै हँमा’ र ‘सै हँपा’अर्थात राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। मनोज राईले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन्।
सोमबार सार्वजनिक गरिएको गीत नेपाल सहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ। राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली , बिसाखा साही ,सुदिता राई , सुजिता योञ्जन , इशान राई , बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन्। यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए ।