सुन्दरहरैंचाः स्थानीय तहको निर्वाचनमा नेपाली नेपाली काँग्रेसलाई जिताउन घरघरबाट लाग्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मोरङको सुन्दरहरैंचा वडा नं ५ वडा समितिले आयोजना गरेको नियमित बैठक तथा सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले काँग्रेस नै मुलुक हितको पार्टी भएकाले आउने निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिएका हुन् ।
पार्टीको १४ औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भएको भए पनि अब त्यसलाई कुनै रिशिवि नसाधि पार्टीलाई जिताउन लाग्नुपर्नेमा सहभागीको जोड छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का सभापति देवराज तामाङले पार्टीलाई जिताउन लाग्नुपर्नेमा जोड दिए । आफू अघिल्लो कार्यकालको सभापति हुँदा पार्टीले महत्त्वपूर्ण जित हासिल गरेको बताउँदै अबको निर्वाचनमा थप सशक्त भएर निर्वाचनमा होमिने बताए ।
नेपाली काँग्रेस क्षेत्र नं ६ क का उपसभापति रामप्रसाद रिजालले पार्टी भित्र योगदानका आधारमा मूल्याङ्कन गरिने भएकाले पार्टीको हितमा काम गर्न आग्रह गरे । उनले बाहिर कुनै व्यक्तिका बारेमा कुरा गर्दा पार्टीलाई नोक्सानी हुने बताए । पार्टी भित्र पनि कुनै गुनासा भएमा छलफलबाट टुङ्ग्याउन सकिने उनको भनाई छ ।
ट्रेड युनियन काँग्रेस प्रदेश १ का सचिव एवं सल्लाहकार समितिका संयोजक उमानाथ आचार्यले वडाका सबै प्रतिनिधि जिताउनका लागि आफूहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । सो कार्यक्रममा नेकपा एमाले सहित अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका वडा सचिव काजीमान गुरुङले बताए ।
वडा सभापति घनश्याम न्यौपानेले आफ्नो वडामा अहिले वडा अध्यक्ष समेत जितेको भए पनि आउने निर्वाचनमा सबै प्रतिनिधिहरू लाग्ने बताए । कार्यसमितिका सबै सदस्यहरू वडाको नेता भएकाले सबै जनताकाको घरघरमा समस्या बुझ्न जानुपर्नेमा जोड दिएका छन् ।