धरानः नेपाल साना उद्योग व्यवसायी संघको केन्द्रिय कार्यालय भवन धरानमा निर्माण हुने भएको छ । संघलाई निशुल्क प्राप्त धरान–१४ रेडक्रस भवन पछाडि घुम्ती मास्तिरको जग्गामा आफ्नै भवन निर्माण गर्न लागेको हो । संघको १३ औं साधारण सभामा सोमवार उक्त घोषणा गरिएको छ । भवन निर्माणका लागि सहयोग जुटाउन निर्माण समिति गठन गर्ने, घरनक्साको डिजायन गर्ने तयारीमा संघ लागेको सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सभामा केन्द्रिय कार्यवाहक सभापति नैनकला न्यौपानेले भनिन् ‘हामीलाई समाजसेवी विर्खबहादुर श्रेष्ठ ज्युले भवन निर्माणका लागि निशुल्क जग्गा दिनु भयो, अव भवन बनाउन पनि सहयोग गर्नुहुने विश्वास गरेका छौं ।’ उनले धरानमा केन्द्रिय कार्यालय भवन बनाउन निर्माण समिति गठन गरी सबैबाट सहयोग जुटाउने बताइन् ।
संघलाई भवन निर्माणका लागि धरानका पुराना उद्योगपति धरान–१४ का विर्खबहादुर श्रेष्ठले ५ धुर जग्गा निशुल्क दिएका हुन् । रेडक्रस पछाडि तथा बहुजातिय जनजाति संग्रहालय परिसर उत्तर तर्फको उक्त जग्गा गएको फागुनमा दाता श्रेष्ठले विधिवत संघको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् ।
साधारण सभाका विच दाता श्रेष्ठलाई संघले सम्मानीत गरेको छ । श्रेष्ठलाई धरानका पहिलो इट्टा उद्योग सञ्चालन गर्ने उद्योगीको रुपमा चिनिन्छ । उनले २०४० साल सम्ममा आधा दर्जन इट्टा उद्योग सञ्चालन गरेका थिए । इट्टा उद्योगपछि श्रेष्ठले धरानमा कपडा उद्योग पनि सञ्चालन गरे । सूतीका ढाका, शर्टिङ, पछ्योरी, कपडा त्यस बेला हाते तानबाट उत्पादन हुने गर्दथ्यो । श्रेष्ठ धार्मिक, सामाजिक तथा विकास कार्यका दाता रहदैं आएका छन् ।
यसैगरी संघले पत्रकार हर्ष सुब्बा सुब्बालाई लामो समयदेखी पत्रकारीतामा कृयाशिल रहदै आएकामा १० हजार रुपया सहित सम्मानित गरेको छ । सम्मानित व्दयलाई कार्यवाहक सभापति न्यापाने, प्रमुख अतिथि धरान प्रज्ञा प्रतिष्ठन संयोजक अम्बिका सम्बाहाङफेले संयुक्त रुपमा दोशल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।
साना उद्योग व्यवसायी संघ व्यक्ति, परिवारका ससाना उद्योग व्यवसायीको हक, हितका लागि २०४७ सालमा स्थापना भएको थियो । २० लाख रुपया भन्दा मुनीका पूंजीको व्यवसाय गर्ने संघले सामाजिक कार्यहरु पनि गर्दै आएको सभामा महासचिव उद्धवप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुतीका क्रममा उल्लेख गरे ।
प्रतिवेदन अनुसार कोरोनाकालमा ठूला व्यवसायीहरु भन्दा साना व्यवसायीहरु बाँँच्ने नसक्ने अवस्थामा पीडित भए । लकडाउनबाट पीडित उनिहरुको सुनवाई कसैले गरेनन् । त्यसैले पनि संघ लकडाउनको विरोधमा डटेर लागेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय उपमहानगरपालिकाले व्यवसाय करमा २५ प्रतिशत छुट र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने करमा २०७७/७८ मा ७५ प्रतिशत र २०७८/०७९मा ९० प्रतिशत मिनाहा गराउनुमा संघको पनि योगदान रहेको महासचिव अधिकारीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
साधारण सभामा प्रमुख अतिथि सम्बाहाङफेले आम नेपालीको आर्थिक जीवन स्तर उकास्न ग्रामिण क्षेत्रमा समेत उत्पादनमुखी साना पारिवारीक उद्योग, व्यवसाय सञ्चालन अपरिहार्य भएको अवस्थामा बढ्दो शहरीकरणले साना उद्योग व्यवसायमा संलग्नहरुको संख्या बढाउन जरुरी छ । उनिहरुका कानुनी झन्झटहरु सहज बनाउन, राज्यले दिने सुविधा दिलाउन संघको महत्वपूर्ण भूमिका रहने बताए ।
धरान–२० गोर्खा स्मृति पार्कमा भएको बनभोज सहितको साधारण सभा कावा अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको हो । स्वागत भाषण संयोजक लोकराज निरौलाले गरेका थिए । सञ्चालन कोषाध्यक्ष कमलप्रसाद भट्टराईले गरे । समापनका अवसरमा लोक दोहरी, महिला–पुरुष नृत्य प्रतियोगीताले साधारण सभालाई स्मरणिय बनाएको छ ।