इटहरीः १२ दिनदेखि बेपत्ता मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुखको जराभित्र शव भेटिएपछि २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको आशङ्का गरिएको छ ।

आइतबार दिउँसो चारकोसे जङ्गलमा ढलिरहेको रुखको जराभित्र फेला परेको हो । सडेर दुर्गन्धित बनेको अवस्थामा भेटिएको शवको आफन्त र परिवारका सदस्यमार्फत प्रहरीले पहिचान गरेको थियो । हत्या गरेपछि रुखको जराभित्र लगेर शव लुकाइएको बताउँदै परिवारले घटनाको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

प्रहरीले पनि उनको हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । पुस २३ देखि २९ गतेसम्म लागेको मच्छिन्द्र मेला हेर्न भनेर गत पुस २७ गते भट्टराई घरबाट हिँडेका थिए । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको जानकारी दिए ।