इटहरीः सुनसरीको बर्जु गाउँपालिकाको न्यायिक समितिले आर्थिक बर्ष २०७६÷७७ मा २१ वटा बैठकको माइन्युट पेस गरी ४० वटा बैठकको भत्ता लिएको खुलेको छ ।
हरेक गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्षको नेतृत्वमा स्थानीय निकायमा हुने न्याय निरुपणका लागि न्यायिक समिति रहने व्यावस्था छ । न्यायिक समितिका पदाधिकारीले न्याय निरुपण सम्बन्धि मुद्धाका विषयमा बैठक गर्दा वा न्याय निरुपण गर्दाका वखतको भत्ता पाउछन् । बर्जु गाउँपालिकामा पनि पालिकाकी उपाध्यक्ष संगीता कुमारी रायको नेतृत्वमा रहेको न्यायिक समितिले २१ वटा बैठक गरेको माइन्युट पेश गरेर ४० वटा बैठक बसेको भन्दै भुत्तानी लिएको पाइएको छ ।
पालिकाले १९ वटा बैठकको माइन्युट पेश गरेको छैन् । यसरी बैठक नै नबसी गाउँपालिकाको १ लाख ६ हजार ८० रुपैयाँ बराबरको भत्ता न्यायिक समितिका पदाधिकारीबाट बेरुजु देखिएको महालेखा परिक्षकले गरेको लेखा परिक्षणको ५८ औँ प्रतिवेदनले खुलाएको छ ।
उपाध्यक्षको नेतृत्वमा भएको न्यायिक समितिले पालिकामा दर्ता भएका ९४ वटा विवाद सम्बन्धिका मुद्धामा जम्मा २० वटा विवादलाई मात्रै निरुपण गरेको पाइएको छ । बाँकी विवाद बाँकी लेखा परिक्षण गर्दाको समयसम्म बाँकी नै देखिएका छन् । लेखा परिक्षण गर्दाको समयमा २०७६ ÷०७७ भन्दा पहिलाको आर्थिक बर्षका ११ वटा विवाद मिलाउन बाँकी देखिएका थिए । समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद दर्ता भएको मितिले ३ महिनाभित्र टुगाईसक्नु पर्ने कानुनी व्यावस्था रहेको छ । तर बर्जु गाउँपालिकाको न्यायिक समितिले सो आर्थिक बर्षका ९४ र अघिल्लो आर्थिक बर्षबाट बाँकी रहेका ११ मा जम्मा २० वटा विवादमात्रै फर्सोट गरेको छ । बाँकी ८५ वटा विवाद बाँकी देखिएका थिए । विवाद मिलाउन बाँकी रहे पनि भत्ता भने लिइसकेको पाइएको छ ।
स्थानीय तहको निर्वाचनमा बिजेता भएपछि शपथग्रहण सकेपछि मासिक सुविधा पाउने गाउँपालिकाका पदाधिकारीहरुले बैठक भत्ताका नाममा मात्रै बस्दै नबसेको बैठकको भत्ता भुत्तानी लिएको तथ्य फेला परेको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा जम्मा १६ वटा बैठक बसेका बर्जु गाउँपालिकाका पदाधिकारीहरुले भत्ता भने ४९ वटा बैठक बसेको बुझेका छन् । न्यायिक समिति बाहेकको अर्को समग्र भत्तामा समेत बर्जुमा व्यापक अनियमितता पाइएको छ ।
गाउँपालिकाका पदाधिकारीले बैठक भत्ताबाट मात्रै एक बर्षमा लिनुपर्ने भन्दा ९ लाख ५३ हजार ७ सय रुपैयाँ बढी रकम बुझेका छन् । यसरी बढी बैठक भत्ता भुत्तानी लिनेमा गाउँपालिकाका प्रमुख रघुनन्दन चौधरी र उपप्रमुख संगीता कुमारी राय सहित ६ जना वडाध्यक्ष, ६ जना कार्यपालिका सदस्य र २० जना वडा सदस्यहरु रहेका छन् । बढी भुत्तानी भएको सबै रकम ९ लाख ५३ हजार ७ सय असुल गरी स्थानिय संचित कोषमा दाखिला गर्न महालेखा परिक्षकको कार्यलयले गाउँपालिकालाई निर्देशन दिएको छ ।