इटहरीः सरकारले तोकेभन्दा बढि रकम लिएर मेडिकल अध्ययन गराएको आरोप लागेका बिराटनगर स्थित नोवल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाउन गृहमन्त्रालयले पत्राचार गरेको छ ।
गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङ्गलाई निर्देशन दिएको हो ।
मन्त्रालयले बिहीबार पत्र पठाएर सुनिल शर्मालाई पक्राउ गरेर आवश्यक कारवाही अगाडी बढाउन भनेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् । गृहको निर्देशन अनुसार स्थानीय प्रशासनले कारवाहीको प्रक्रिया बढाउने दाहालको भनाई छ ।
नोवल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलन चर्किएपछि सिहँदरबारमै पुगेको सयुक्त विद्यार्थी आन्दोलनकर्ताहरुले सुनिल शर्मालाई कालोमोसो समेत दलेका थिए । विद्यार्थीहरुले मोरङ्गका प्रमुख जिल्ला अधिकारी र प्रदेश एकका मुख्यमन्त्री समेतलाई भेटेर चर्को शुल्क अशुल गर्ने शर्मालाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसैका आधारमा बिहीबार नै गृहले स्थानीय प्रशासनलाई आवश्यक कागजात माग गरेर विद्यार्थी ठगी विरुद्ध नियन्त्रणमा लिएर कारवाही चलाउन पत्राचार गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्याय, काठमाण्डौं विश्वविद्यालय, काठमाण्डौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच पुस ३० गते छलफल भएको थियो । त्यस क्रममा चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क बाहेकका उपशिर्षकमा विद्यार्थीबाट रकम लिन नपाईने सहमति भएपनि कार्यन्वयन भएको छैन् ।
गृह मन्त्रालयले स्थानीय प्रशासनलाई कारवाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएसँगै विद्यार्थी तथा अभिभावकको उजुरी बिना पनि आवश्यक छानविन तथा अनुसन्धानका लागि सञ्चालकलाई नियन्त्रणमा लिनसक्ने छ । यता, गृहबाट पत्र प्राप्त भएसँगै जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत संयुक्त विद्यार्थी संगठनलाई शुक्रबार दिनको ३ बजे अनौपचारिक छलफलका लागि बोलाएको थियो ।