इटहरीः सप्तकोशी डेभलपमेन्ट बैङ्क बिराटनगरबाट अपचलन भएको ठुलो अंकको रकम बैँकका सिइओ नविन सुवेदीले जाडपार्टी, घरजग्गा कारोबार र मिटरव्याजमा खर्च गर्ने गरेको खुल्दै आएको छ ।
बैँकको जनरल सर्भिड डिपार्टमेन्टमा रहेका एक जना कर्मचारीसँगको साँठगाँठमा बैँकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले बैँकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको बाहिरिएपछि झण्डै एक महिनादेखि सुवेदी सहित बैँकको ४ जना कर्मचारी प्रहरी हिरासतमा छन् ।
घोटला भएको रकममध्येकै रकमबाट पटक पटक जाडपाटीको आयोजना हुने गरेको र कतिपय रकम घरजग्गाको कारोबार र मिटरव्याजमा समेत लगाइने गरेको कर्तुत बाहिरिएको छ । पक्राउ परेका एकजनाले दिएको बयानले हिनामिनाबाट आएको पैसा घरजग्गा र मिटरब्याजमा खर्चिने गरेको पाइएको हो ।
हिनामिनाका मुख्य खेलाडी मानिएका नविन सुवेदीले आफ्नो नातेदार बबिता बस्नेतको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा प्राइम बैङ्कको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको चरणवद्ध अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
कसले कति के–के मा हिनामिना गरेको रकम के मा लगानी गरेका छन् भन्ने तर्फ भने अहिले केहि खुलिसकेको छैन तथापी घटनाको अनुसन्धान सुक्ष्म रुपले भइरहेको बताइएको छ । घटनालाई राष्ट्र बैँक, नेपाल प्रहरी र बैँकले आन्तरिक रुपमा समेत अनुसन्धान गरिरहेका छन् ।
१४ पुसमा बैङ्कका तत्कालीन सिइओ सुवेदीसहित बैङ्कका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ भने १९ मङ्सिरमा बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए ।

भट्टराई पक्राउ परेपछि उनका आफन्तले पत्रकार सम्मेलन गरी भट्टराई निर्दोष रहेको र मुख्य नाइके सिइओ सुवेदीनै रहेकाले उनलाई पक्राउ गर्न दवाव दिएका थिए । घटना भएको लामो समय सम्म पनि सिइओ सुवेदी प्रहरी नियन्त्रण बाहिर रहेका कारण उनले निकै सेटिङ्ग गर्न भ्याएको स्रोतको दावी छ । तथापि सबै कारोबारहरु सिस्टममा हुने भएकाले त्यतिधेरै लुकाउने अवस्था भने नआउने बैँक स्रोतले बताएको छ ।
भट्टराईले जिम्मेवारी पाएको रेमिट्यान्सतर्फको करोडौं रकम हिनामिना भएको थियो । उनको नाममा पाँच वटा विभिन्न बैङ्कको खाताबाट एक करोड बढी रकम झिकेको अनुसन्धानले देखाएको छ । प्रारम्भिक अनुसन्धानलाई हेर्ने हो भने भट्टराईले ठुलो रकम हात पार्न सकेका छैनन् तर उनले सुवेदीलाई हिनामिनामा भने सहयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।
बैङ्कमा जागिर सुरु गरेपछि भट्टराई विराटनगरका नाम चलेका होटल र रेष्टुरेण्टमा दैनिकजसो जाने गरेको र यस्ता होटल र रेष्टुरेण्टहरूमा दिनहुँ ‘जाँड पार्टी’ आयोजन ागर्ने गरेको प्रहरी बताउँछ ।
सुवेदीले यस्ता जाँडपाटी धेरै जसो विराटनगरको एयरपोर्ट मोडमा रहेको एउटा रेष्टुरेण्टमा गर्ने गरेका थिए ।
नेपाल राष्ट्र बैँकबाट ख बर्गको कारोबार गर्ने इजाजत पाएको सप्तकोशी डेभलपमेन्ट बैँक प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको वित्तिय संस्था हो ।