इटहरी :संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारी अस्पतालमा पिसिआर परीक्षण निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ ।
म्ांगलबार बसेको समितिको बैठकले सरकारलाई निर्देशन दिँदै निजी अस्पतालमा शुल्क समायोजन गर्न समेत भनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, मन्त्रालयका सचिव रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिलगायतसँगको छलफलमा यस्तो निर्देशन दिइएको हो । कारोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेसँगै बिरामीको संख्या थपिन थालेपछि संसदिय समितिको मंगलबारको बैठक बसेको थियो ।
समितिले अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई घरमै खोपको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
खोप केन्द्र विस्तार र आमनागरिकलाई कोभिडविरुद्धको खोप छिटो, छरितो गर्न र प्रभावकारी ढङ्गले खोप उपलब्ध गराउन र यसको दायरा बढाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।