बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ५ मा संचालित जग्गनाथ डेडराज जनता माबिका व्यवस्थापन समिति अध्यक्ष पुष्पराज ढुंगाना (ऋषि) को शैक्षिक योग्यताबारे प्रश्न उठेपछि सम्बन्धित सरोकारवालाहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।
सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन सम्बन्धित विद्यालयको कक्षा संचालनअनुरुपको शैक्षिक योग्यता व्यवस्थापन समिति अध्यक्षको हुनुपर्छ । सोही अनुरुप जडेजको हकको एसएलसी वा सो सरहको तह उतिर्ण गरेको व्यक्ति अध्यक्ष बन्न सक्नेछन् । यद्यपि वर्तमान अध्यक्ष ढुंगानाको शैक्षिक योग्यता भने सोअनुरुप नभएको बुझिएको छ ।
यता, अध्यक्ष ढुंगानाले यसको खण्डन गर्दै आफूसँग दस कक्षाको शैक्षिक योग्यता भएको बताएका छन् । अध्यक्ष ढुंगानामाथि प्रश्न खडा हुँदा सम्बन्धित सरोकारवालाहरुले आफ्नो धारणा राखेका हुन् ।
सम्बन्धित वार्डका अध्यक्ष राजु अधिकारीले अध्यक्ष ढुंगानाको नियुक्ति नै अवैधानिक रहेको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका अधिकारीले नियुक्ति अबैधानिक भयो भनेर सोहीबखत समिति खारेजीको माग गर्दै आफूले उच्च अदालतमा मुद्दा समेत दायर गरेको बताए ।
उनले भने, –‘त्यहीबेला सर्वसम्मतिले समिति चयन गरिएको भनेर मेरो कुरा नसुनी समितिलाई जबर्जस्ती अघि बढाइएको थियो । अहिले अध्यक्षको शैक्षिक योग्यताबारे प्रश्न उठिरहेको छ ।’ यसबारे उतिबेलै प्रशासनले वेवास्ता गरेर गलत गरिसकेको अध्यक्ष अधिकारीको तर्क छ । यस सन्दर्भमा व्यवस्थापन समितिको बैठकमा प्रश्न सोध्ने तयारीमा छु, त्यसपछि एउटा निचोड आउनेछ, उनले भनें ।
उपसचिव तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख देबेन्द्र बहादुर मल्लले बहुमत सदस्यले छानेर अध्यक्ष भएको खण्डमा सर्वसम्मत अध्यक्ष मानिने हुँदा अध्यक्षको शैक्षिक योग्यताबारे प्रश्न उठाउन नमिल्ने बताए । उनले भने, –‘ऐनअनुसार शैक्षिक योग्यता चाहिन्छ भनेको छ, तर अरु कोही नभएको अबस्थामा सर्वसम्मत चयन गरेर अध्यक्ष बन्न पाइने प्रावधान छ, त्यसैलाई टेकेर अध्यक्ष चयन भएको हुनसक्छ ।’ अहिले अध्यक्ष ढुंगानाको योग्यताबारे उठेको प्रश्नमाथि भने उनले आफूहरू जवाफदेही नहुने बताए । उनी भन्छन्, –‘व्यक्तिगत रूपमा कसले कहाँ के भन्छ ? त्यतातिर जवाफ दिँदै हिड्न पनि सकिँदैन, आधिकारिक रूपमा हामीकहाँ सवाल आउँछ भने हामी जवाफदेही हुन्छौ ।’ यद्यपि आजसम्म भने यसबारे शिक्षा शाखाले कुनै छलफल नगरेको उनको भनाइ छ ।
आफ्नो अधिनभन्दा माथिको कुरा भएकाले व्यवस्थापन समिति अध्यक्षको शैक्षिक योग्यता आफूले सोधपुछ गर्न नसक्ने प्रधानाध्यापक हिरामणी पौडेलले बताए । उनले भनेका छन्,–‘आजसम्म नउठेको विषयमाथि अहिले छलफल गर्नुको कुनै औचित्य छैन् । उनले थपे, –‘यद्यपि व्यवस्थापन समितिका कुनै पदाधिकारी र सदस्यहरुको आग्रहमा भने बैठक बोलाएर छलफल गर्न सकिन्छ ।’