सङ्खुवासभाः ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजनाको ट्रान्समिसन लाइनका लागि ७ जिल्लामा ५ सय १ टावर हुने नक्साङ्कन भएको छ । जसअनुसार सङ्खुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने आयोजनाले जनाएको छ ।
आयोजना निर्माण कम्पनी सतलजका डेपुटी जनरल मेनेजर विक्रम मोदगिलका अनुसार भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १ सय ३०, सिराहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर रहने छन् ।
त्यस्तै, ट्रान्समिसन लाइन सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा र महोत्तरी हुँदै भारत पुग्ने निर्माण कम्पनीले जनाएको छ । सङ्खुवासभा जिल्लाको मकालु–५ नुमको फ्याक्सिन्दामा बाँध निर्माण भइरहेको छ भने पावर हाउस चाहिँ चिचिला गाउँपालिकाको दिदिङको पुखुवामा निर्माण भइरहेको छ ।
हाल ट्रान्समिसन लाइन सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट शुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयलेबेंसी पुग्नेछ । त्यसपछि भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका हुँदै खोटाङ पुग्ने कम्पनीले जनाएको छ ।
सगरमाथा अञ्चलको खोटाङको साकेला गाउँपालिका, दिपु्रङ चुइचुम्मा गाउँपालिका हुँदै हलेसी तुवाचुङ नगरपालिकको राजापानीबाट उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका, कटारी नगरपालिका हुँदै सिराहा पुग्नेछ । सिरहा पुगेपछि पूर्वपश्चिम राजमार्ग हुँदै महोत्तरीबाट ट्रान्समिसन लाइनको रुट भारत पुग्ने आयोजनाले जनाएको छ ।
आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणको काम सकिएको जानकारी दिइएको छ । सङ्खुवासभा जिल्लामा २ अर्ब भन्दा बढी रकम मुआब्जा बाँडिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् । प्रजिअ अधिकारीका अनुसार ड्याम साइड, पावर हाउस, क्याम्प, अडिटर, सडकको मुख्य रूपमा मुआब्जा दिइसकेको भए पनि ट्रान्समिसन लाइनको जग्गा अधिकरण गर्ने र मुआब्जा दिन बाँकी रहेको छ ।