इटहरीः देश विदेशमा आफु चर्चित रहेको दावी गर्ने इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी आफ्नो पार्टी नेकपा एमाले भित्र ज्यादै कमजोर रहेको प्रमाणित भएको छ । मेयर पदमा विजयी भएको केही समयदेखि नै आफ्ना बिभिन्न हर्कतका कारण चर्चामा आईरहने उनले नेकपा एमाले पार्टी जिल्ला सुनसरीमा आफु लोकप्रिय नेताकै रुपमा रहेको बताउँदै आएका थिए । इटहरीको मेयर पदमा विजयी हुनु अघि उनि नेकपा एमालेको सुनसरी जिल्ला अध्यक्ष थिए । तर, उनको आफ्नै कार्यशैली , स्वभाव र हर्कतका कारण पार्टी भित्र उनको अवस्था पत्ता साफ नै भईसकेको प्रमाण बिहिबार सार्वजनिक भएको नेकपा एमाले सुनसरीको सातौं जिल्ला अधिवेशनमा भएको मतपरिणामले पेश गरिदिएको छ ।
मंगलबार सम्पन्न निर्वाचनमा नेकपा एमालेको जिल्ला कमिटिको पदाधिकारी र सदस्यहरुका लागि १ हजार ८ सय ५ जनाले मतदान गरेका थिए । जिल्ला अध्यक्ष पदमा चौधरीले समेत आफ्नो उम्मेदवारी दिएका थिए । उनले नामावली फिर्ता लिने अन्तिम समय सम्म पनि फिर्ता नलिई चुनावी मैदानमा होमिएका थिए । उनिसंगै पूर्व जिल्ला अध्यक्ष भईसकेका रेवतीरमण भण्डारी र महाधिवेशन तयारी कमिटिका जिल्ला अध्यक्ष भएका खेमराज पोखरेल समेत जिल्ला अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धामा थिए ।
बिहिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य पदाधिकारीहरुको मत परिणाम अनुसार आफुलाई जिल्लामा मात्रै नभई देश विदेशमा चर्चित मेयरका रुपमा अगाडी सार्न पछि नपर्ने चौधरीले जम्मा ८० मत ल्याएर सम्भवत सुनसरीको नेकपा एमालेको इतिहासमा ज्यादै कम मत ल्याउने उम्मेदवारमा आफ्नो नाम दर्ज गराएका छन् । पार्टी नीति विपरित जथाभावी गर्ने, बोल्ने, घुर्की लगाउने र पार्टीका केन्द्रिय अध्यक्ष केपी ओलीलाई समेत आफुले नमान्ने जस्ता धक्कु लगाउँदै आएका चौधरीलाई सुनसरी जिल्लाका आफ्नै कार्यकर्ताहरुले गतिलो झापड मत मार्फत दिएका हुन् ।
आफुलाई भ्रष्टाचार विरोधी अभियान्ताका रुपमै चिनाउन मिडियावाजीमा उत्रिएका तर २ वटा बैंठक मात्र बसेर ३ वटा बैंकको भत्ता पड्काउन खप्पिस मेयर चौधरी यसअघि पार्टीको केन्द्रिय महाधिवेशनमा पनि उपमहानगरका कर्मचारी र केही आफु निकटका कार्यकता लिएर चितवन गएका थिए । थारु कोटाबाट भएपनि केन्द्रिय सदस्य हुने भन्दै चितवनमा कोकोहोलो गरेका उनका फटाई र हर्कत नजिकबाट बुझेका केपी शर्मा ओलीले उनलाई केन्द्रको कुनै पनि जिम्मेवारी नदिएपछि चौधरी जिल्ल परेका थिए । उनि मनोनित भित्र पर्ने आशामा बसेका थिए । तर कहि कतैबाट केन्द्रिय सदस्यमा मात्र नभई प्रदेश कमिटिमा समेत नपरेपछि उनि पार्टी र कार्यकर्ता बीचमा झन कमजोर बनेका थिए ।
मेयर भएपछि स्थानीय तहको निर्वाचन ताका खुलेरै साथ दिने पार्टी निकट पत्रकारहरुलाई लोपार्ने, नाकको डाँढी भाँच्ने , सार्वजनिक रुपमै संचारमाध्यमा जथाभावी बोल्ने, सार्वजनिक स्थलमा महिलाहरुको अस्मितामाथि धावा बोल्ने र कार्यालयमा सेवाग्राही महिलाहरुमाथि दुव्र्यवहार गर्ने लगायतका हर्कत गरेका मेयर चौधरी पार्टी भित्र आलोचित बन्दै आएका थिए । पार्टी पटक पटक उनलाई सच्चिन आग्रह गर्दा वेवास्था गर्दै आएकाले उनि आम कार्यकर्तासंग बीच मात्र नभई पार्टी भित्रपनि कमजोर बन्दै आएका थिए । उनको सचिवालयमा रहेकाहरुले गलत सल्लाहा दिएका कारण पनि उनि पार्टी र कार्यकर्ता बीच कमजोर हुँदै आएका थिए ।
पार्टी र कार्यकर्ताहरुलाई नपच्ने गतिविधि गरिरहेका उनले पछिल्लो समय पार्टी जिल्ला तहको एक कार्यक्रममा माइक खोसेको भोलिपल्टै नेकपा एसका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाललाई घरमै बोलाएर भोज खुवाएका थिए । त्यसको केही समयपछि इटहरी आँखा अस्पतालको भवन शिलन्यासका लागि पनि नेपाललाई नै प्रमुख अतिथि बनाएपछि मेयर चौधरीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले शंकाको रुपमा हेर्न थालेका थिए । उनको पछिल्लो गतिविधिले उनलाई पार्टीको केन्द्रिय , प्रदेश र जिल्ला नेतृत्वले विश्वास गर्न छाडेको थियो । यस्तै परिस्थितीका बीचमा उनले नेकपा एमाले सुनसरी कमिटिको जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिई चुनावी मैदानमा उत्रिएका थिए । तर पार्टीका मतदाताहरुले चौधरीलाई नराम्रो गरि पराजित मात्रै गरेनन् ,उनको राजनितिक आगामी यात्रामा नै गम्भिर प्रश्न चिन्नह खडा गरिदिएको बिश्लेषण गरिएको छ ।