इहटरी :नेकपा एमाले सुनसरी जिल्ला कमिटिको अध्यक्ष पदका लागि भएको निर्वाचनमा रेवतीरमण भण्डारीले बाजि मारेका छन् ।
दुई जना संस्थापन इत्तर प्रतिस्पर्धी रेवती रमण भण्डारी र खेमराज पोखरेलको कडा प्रतिस्पर्धा भएको चुनावको ९ सय २० मत ल्याउँदै रेवतीरमण भण्डारी एमाले सुनसरीको जिल्ला अध्यक्षमा विजयी बनेका हुन ।
भण्डारीसँग प्रतिस्पर्धा गरेका खेमराज पोखरेलले ७ सय ७५ मत प्राप्त गरेका छन् भने आफुलाई भ्रष्टाचार विरोधी भाइरल मेयरका रुपमा परिचित गराउन लागि परेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जम्मा ८० मत पाएका छन् ।
नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा इटहरी निवासी एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारीले पुन अध्यक्षमा जित हासिल गरेका हुन । माओवादिसँग एकता गरेर नेकपा भएपछि भाँडिएको संरचनामा पनि भण्डारीलाई पार्टी कार्यकर्ताले विश्वास गरेर अध्यक्षमा जिताएका हुन । भण्डारीले निकटतम प्रतिद्धन्दि खेमराज पोखरेलभन्दा १ सय ४५ मत बढि ल्याएका हुन ।
यसैगरी सुनसरी जिल्ला उपाध्यक्षमा निलम खनालले जित हात पारेका छन् । खनालले १ हजार ११ मत ल्याएका उपाध्यक्षमा बिजयी भएका छन् भने खनालका प्रतिद्धन्दि नन्द कुमार बस्नेतले ७ सय मत ल्याएका छन् ।
यसै गरी उपसचिवमा राम कोइराला र योग्यराज खड्का विजयी भएका छन् । कोइराला र खड्काले क्रमश ८२१ र ५ सय ६३ मत प्राप्त गरेका छन् । उपसचिवका प्रतिद्धन्दिहरु अन्जनी कुमार पोखरेल, अर्जुन गहतराज, पदमप्रसाद लिम्बु, लहरुमाया जिमी र लोकेश निरौलाले हार व्यहोरेका छन् । उनिहरुले क्रमश ४९७, २२९, ५२५, २४० र ४८४ मत प्राप्त गरेका थिए ।