इटहरीः आफुलाई भ्रष्टाचार विरोधी भाइरल मेयरका रुपमा परिचित गराउन लागि परेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा एमाले सुनसरीको जिल्ला अध्यक्ष पदमा लज्जास्पद हार हुने प्रायः निश्चित भएको छ । एमालेको सातौं जिल्ला अधिवेशनको पछिल्लो मतगणना अनुसार ६ सय मत गणना गरिसक्दा उनले जम्मा २८ मत मात्र प्राप्त गरेका छन् ।
६ सय मत गणना गर्दा नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा इटहरी निवासी एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारीले नै अग्रता कायम राखेका छन् । उनले २ सय ९९ मत प्राप्त गरेका छन् । अर्का अध्यक्षका प्रत्यासी महाधिवेशन आयोजक कमिटीका अध्यक्ष खेमराज पोखरेलले २ सय ६१ मत प्राप्त गरेका छन् । भण्डारी भन्दा पोखरेल ३८ मतले पछि छन् । उनिहरु बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । भण्डारी र पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् । पोखरेललाई भीमप्रसाद आर्चायले साथ दिएका छन् । युवा कार्यकर्ता माझमा भने भण्डारी लोकप्रिय छन् ।

उपाध्यक्ष पदमा बराहक्षेत्र नगरपालिकाका मेयर समेत रहेका निलम खनाल भारी मतले अगाडी छन् । उनले ६ सय मत गन्दा ३ सय ३४ मत प्राप्त गरेका छन् । नन्दकुमार बस्नेतले २ सय ३१ मत मात्र प्राप्त गरेका छन् । दुई उप सचिव पदमा भएको निर्वाचनमा राम कोइराला र योग्यराज खड्काले अग्रता लिएका छन् । कोइरालाले २ सय ९९ र खड्काले १ सय ९८ मत प्राप्त गरेका छन् । अन्जनीकुमार पोखरेलले १ सय ५९ मत, लोकेश निरौंलाले १ सय ५१ मत, पदमकुमार लिम्बूले १ सय ६४ मत, अर्जुन गहतराजले ८१ मत र लहरुमाया जिमीले ७१ मत प्राप्त गरेकी छन् । मतगणना नरोकिए आज रातीसम्ममा पदाधिकारीहरुको अन्तिम परिणाम आउने बताइएको छ ।