धरानः धरान उपमहानगरपालिकाका ६ वटा वडा कार्यालयका कर्मचारी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा नम्बर १४ र २० को वडा कार्यालय ७ दिन बन्द हुने भएको छ । बुधबारबाट ती वडा कार्यालय ७ दिनसम्मका लागि बन्द हुने भएका हुन् ।
सामान्य रुघाखोकी लागेर एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिनेमा १४ र २० न वडा कार्यालय रहेको र उक्त वडाहरु सतर्कता अपनाउनका लागी ७ दिन बन्द रहने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार कोरोना संक्रमण देखिने कर्मचारीहरु धरान ७,११,१३,१९ न वडा सहित उपमहानगरपालिका मै कार्यरत छन् । हाल संक्रमितहरु सबै होम आइसोलेसन र हरियालीमा संचालित आइशोलेशनमा सामान्य अवस्थामा छन् । उक्त वडाहरुमा गत २ दिनदेखि सम्पर्कमा आउने सबैलाई सुरक्षित साथ होम आइसोलेसनमा रहन समेत संक्रमीत कर्मचारीले अनुरोध गरेका छन् ।