विराटनगरः प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । मंगलवार संवाद समूह प्रदेश १ ले आयोजना गरेको सङ्घीयताको चार वर्ष र नागरिकका अपेक्षा विषयक छलफलमा उनले सङ्घीयता कार्यान्वयनमा सबै उत्तिकै महत्त्वपूर्ण भूमिकामा रहने बताएका हुन् ।
‘सरकारले राम्रो काम गर्ने हो । प्रतिपक्षीले नराम्रो भयो भने देखाइदिने हो । उनले भने नागरिक सजक बन्नुपर्ने हो ।’ आफूहरू सङ्घीयता पछि सरकार र प्रतिपक्षी दुवैको भूमिकाको अनुभव बटुलेकाले अहिले सरकारमा आएकोले राम्रा काम गर्ने उनले बताए ।
व्यक्ति आफ्नै सर्वैसर्वा ठान्ने प्रवृत्ति समाजमा व्याप्त रहेको उनको भनाई छ । ‘नेता उस्तै, अनि ताली दिनेको कमी छैन । उनले भने, सबै सचेत भएर लाग्नुप¥यो ।’ संघियता आएपछि विकास नै भएन भन्ने मानसिकता भने तोड्न उनको आग्रह छ । आर्थिक तथा सामाजिक क्षेत्रमा भइरहेको प्रगतिलाई पनि सङ्घीयताको उपलब्धिका रूपमा लिन सकिने मन्त्री कार्कीको भनाई छ ।
अहिलेको सरकार एक वर्षसम्म निर्धक्क चल्ने बताउँदै उनले अस्थिरताले पनि काममा बाधक बनाएको बताए । कानूनी अभाव र साना काममा पनि केन्द्रकै मुख ताक्नु पर्दा पनि समस्या हुने गरेको उनको भनाई छ ।
अहिले हिजोको भन्दा ठुलो प्रतिपक्षी रहेको उल्लेख गर्दै उनले प्रदेश नामकरणका सन्दर्भमा सहकार्य आवश्यक रहेको सङ्केत गरे । हामीले थोरै व्यवस्थित गर्न सक्यौँ भने, नामकरण पनि गर्न सक्छौँ, उनले भने राजधानीको संरचनालाई पनि हामीले एकरूपता दिन सक्छौँ ।’
कार्यक्रममा सहभागी वक्ताहरूले संघियता आएपछि आफ्नो अधिकार स्थापित गर्नुपर्ने कुरामा जोड दिएका छन् । सङ्घीयता पछि वित्तीय तथा आर्थिक, प्रशासनिक क्षेत्रमा सुधार, पूर्वाधारको क्षेत्रमा लगानी बढिरहेको, सासकीय पद्धतिको स्वरुप बद्लिएको बताएका छन् ।
सहभागीहरूले प्रदेश संरचना आएपछि अधिक खर्चको भार बढिरहेको पनि बताएका छन् । कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल, पूर्व राज्य मन्त्री जसमाया गजमेर, विभिन्न पालिकाका प्रमुख उपप्रमुख, लगायत सरोकारवाला निकायका प्रतिनीधिले सहभागिता जनाएका थिए ।