विराटनगरः नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरमा अनलोडका लागि भित्रिएको डिजेल ट्याङ्करमा परिणामभन्दा न्यून इन्धन पाइएको घटनाको अनुसन्धानमै शङ्का उब्जिएको छ ।
भारतीय आयल निगमको बरौनी डिपोबाट डिजेल लिएर आएको को १ ख ५९६५ नम्बरको ट्याङ्करमा २ हजार ४ सय ८४ लिटर कम डिजेल भेटिएको विषयमा अनुसन्धानका लागि खटिएको टोलीको कामप्रति नै शङ्का गरिएको हो ।
निगम केन्द्रीय कार्यालयले उप–निर्देशक अञ्जना पोखरेलको संयोजकत्वमा इञ्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार केसी रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले २ दिनदेखि काम गरिरहेको भए पनि इन्धन हराएको विषयको जिम्मा लिनुपर्ने कार्यालय प्रमुखसँग सहयोग लिएको भन्दै आलोचना थालिएको हो ।
छानबिनको क्रममा रहेको समितिले चालक, ढुवानीकर्तासहित नेपाल आयल निगम प्रादेशिक कार्यालयका कर्मचारीसँग बयान लिने क्रम जारी राखेको छ । ट्याङ्करमा लगाइएको लकिङ सिस्टमको सेटिङ बिगारेर ढुवानीकर्ता शुकदेव सिंहको योजनामा चालकले तेल निकालेको आशङ्का गर्दै छानबिन समितिले त्यसका लागि आवश्यक पर्ने उपकरण र विधिबारे अध्ययन तथा प्रयोग समेत सोमबार गरेको थियो ।
‘संवेदनशील विषय भएकाले हामीले आफ्नो काम गम्भीर रूपमा गरिरहेका छौं’ छानबिन समिति संयोजक एवं उप–निर्देशक पोखरेलले भनिन्, ‘वास्तविकता बाहिर ल्याउन दिनरात नभनी काम भइरहेको छ । तर कुनै कुरा बोल्न मिल्दैन ।’
ट्याङ्कर चालक र ढुवानीकर्ता पक्षसँग कुरा गरिरहेको छानबिन समितिका सदस्यले ट्याङ्करको प्राविधिक अध्ययनपछि पुनः सिल गरेर राखेको छ । लकिङ प्रणाली यथावतै रहेको अवस्थामा इन्धन निकाल्न सक्ने सम्भावनाको परीक्षणका क्रममा ट्याङ्करमाथिको ढकन खोलेको थियो ।
लकिङ प्रणाली नै यथावत रहँदा कस्सिएको ढकन खोलिने सम्भावना बारे परीक्षण गर्न फलामको डण्डी (झम्पल) लाई काठको जगमा राखेर खोल्ने प्रयास गरिएको थियो । त्यस बाहेक ट्याङ्करमै प्वाल पारेर झिकेको हुन सक्ने आशङ्का गर्दै अध्ययन समेत गरिएको छ ।
हराएको भनिएको इन्धनको जिम्मेवारी लिनुपर्ने प्रादेशिक कार्यालय विराटनगरका प्रमुख दिनेशकुमार यादवसँग छानबिन समितिले बुझेको छ । कार्यालय प्रमुख नै घटनामा संलग्न पक्षमध्येको एक प्रमुख पक्ष हुने भए पनि बयान लिइएको व्यक्तिलाई अनुसन्धानका हरेक घटनामा सँगै लगिएको भन्दै निगमभित्रैका कर्मचारीले छानबिन समितिको आलोचना गरेका छन् ।
अत्याधुनिक लकिङ प्रणालीको चाबी रहने जिम्मेवार अधिकारीलाई छानबिनका क्रममा सहयोगी सरह बनाउन नमिल्ने भए पनि हरेक ठाउँमा सँगै लगिएको कर्मचारीको आरोप छ ।
५ वटा चेम्बर भएको उक्त ट्याङ्कर गत मंसिर ६ गते डिजेल लिएर नियमित प्रक्रिया अनुसार कार्यालय प्रवेश गरेको थियो । ट्याङ्करका पाँच चेम्बरमा २० हजार लिटर इन्धन हुनुपर्नेमा २ हजार ४ सय ८४ लिटर अपुग देखिएको थियो ।
निगम परिसरमा भित्रिएको ट्याङ्करमा परिमाण अनुसारको इन्धन नहुनुको दोष निगमको प्रमुखले समेत लिनुपर्ने हुन्छ । तर, छानबिन समितिसँगै सहयोगी बन्नु गलत हुने भन्दै आलोचना थालिएसँगै नयाँ चरणको छानबिनको मागसमेत गरिएको छ ।
मेरो संलग्नता छैनः प्रमुख यादव
यस विषयमा प्रमुख यादवसँग कुरा गर्दा छानबिनका लागि आएको समितिले आफूसँग बयान लिनु र आफ्नो कार्यालय परिसरमा कतिपय सहयोग माग्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।
आफू डिपोको प्रमुख भएर गत साउन १६ गतदेखि कार्यारम्भ गरेकै दिन चावीको जिम्मेवारी उपप्रबन्धक रामकृष्ण श्रेष्ठ र सहायक प्रबन्धक वीरेन्द्र मिश्रलाई दिएको र घटनापछि तत्काल चालक तथा ढुवानीकर्तालाई कारवाही गरेकाले यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ । ट्याङ्करका चालक सर्वेन्द्र स्वर्णकारले आफू निर्दोष रहेको बताएका छन् ।