विराटनगरः लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ ।
यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको छ । ३ दिवसीय खेलमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका १६ वटा क्लबहरुको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खेलमा सुनसरीको ६, मोरङको ७ र झापाकोे ३ वटा क्लब सहभागी हुुने क्लबका अध्यक्ष सुनिल यादवले बताए । उनले खेलकुदलाई प्रोत्साहन, युवाहरुको प्रतिभा प्रस्फुटन र मैत्रीपुर्ण भावना जागृत गराउने उद्देश्यका साथ खेलको आयोजना गर्न लागिएको जानकारी दिए ।
बुुधबार बिहान साढे ७ बजेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन ८ र दोश्रो दिन ६ वटा खेल हुने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगिताको अन्तिम दिन फाईनल खेल मात्र हुनेछ । ३ दिवसीय इन्डोर फुटबल प्रतियोगितामा भने कुल १५ वटा खेल हुने जनाईएको छ ।
प्रतियोगिताको विजेताका क्लबले प्रमाण–पत्र, मेडल र शिल्ड सहित रु. २५ हजार नगद पुरस्कार र उप–विजेताका लागि मेडल र प्रमाण–पत्र सहित १० हजार नगर पुरस्कारको व्यवस्था गरेको छ । यसका साथै म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट, बेस्ट गोल किपर र बेस्ट स्ट्राइकरका लागि पनि मेडल र पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका पुर्व अध्यक्ष मनोज तिवारीले जानकारी दिए ।
यही बुधबारदेखि सुरु हुने खेलमा भने १८ देखि ३० वर्षका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले यसअघि दुईपटक ईन्टर लियो रनिङ शिल्ड फुटसल कप आयोजना गरिसकेको छ । पहिलो संस्करणको खेलमा १० र दोेश्रो संस्करणको खेलमा १२ वटा टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।