इटहरीः नोवेल मेडिकल कलेज विराटनगरले मेडिकलका विद्यार्थीहरुलाई अतिरित्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीलाई गुण्डागर्दी शैलीमा सुरक्षा गार्डहरुले आक्रमण गरेको नेकपा एस निकट अनेरास्ववियूले बताएको छ ।
आइतबार आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबीच झडप भएको थियो । आन्दोलनरत विद्यार्थीहरुले भने सुरक्षा गार्डको पोषाकमा नोवेलले गुण्डा परिचालन गरेको आरोप लगाएको छ । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सीसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा गार्डहरुले रोक्न खोजेपछि झडप सुरु भएको हो । झडपमा केही विद्यार्थी र केही सुरक्षा गार्डहरुलाई सामान्य चोट लागेको बताइएको छ ।
अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षा गार्डहरुले आक्रमण गर्न थालेपछि प्रतिकार गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् । क्याम्पस प्रशासनले भने बाहिरका मानिसहरूले विद्यार्थीको नाममा घुसपैठ गरेर अस्पतालमा तोडफोड गरेको दाबी गरेका छन् ।

271654486_4942988282418519_1522771932478519866_n
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क बुझाउन कलेज प्रशासनले दबाब दिएको र कक्षाबाट निकालेको कारण आन्दोलन गर्नुपरेको बताएका छन् । कलेजले आयोगले तोकेको भन्दा २० लाख बढी शुल्क तिर्न विद्यार्थीहरुलाई दबाब दिइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरीसमेत परेको छ ।
सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सा शिक्षा आयोगले निर्धारण र निर्देशन गरेको भन्दा अन्य कुनैपनि बहानामा अतिरिक्त शुुल्क लिन नमिल्ने विद्यार्थी संगठनकोे माग छ । उनीहरुले चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै आन्दोलनरत विद्यार्थीहरुलाई न्यायको अनुभुति दिलाउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

271184964_983346659262261_8697620657224148195_n
विद्यार्थीहरुको जायज माग सम्बोधनका निम्ति शान्तिपुर्ण आन्दोलनका क्रममा बिहीबार क्याम्पस प्रशासनमा तालाबन्दी भईसकेको भएपनि नोबेलले माग सुनुवाई गर्नुको साटो विद्यार्थी र विद्यार्थी नेताहरुलाई डराउने र धम्क्याउने कार्य गरिरहेको ज्ञापन–पत्रमा उल्लेख छ । शान्तिपुर्ण आन्दोलनकै क्रममा आईतबार रिले अनसन बस्न खोज्दा नोबेलमा कार्यरत सुरक्षा गार्डहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेको विद्यार्थीहरुले बताएका छन् ।
आइतबार विज्ञप्ती जारी गर्दै नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संघका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीमाथि भएको आक्रमणको विरोध गरेका छन् । विज्ञप्तीमा नोवेलका सन्चालक सुनिल शर्माले शान्तिपुर्ण विद्यार्थीहरुको आन्दोलनमा गुण्डाहरु प्रयोग गरी आक्रमण गरेको र आक्रमणका क्रममा अनेरास्ववियूका केन्द्रिय सचिव किसन भगत र केन्द्रिय सचिवालय सदस्य शिव रतन शाह लगायतका दर्जनौ विद्यार्थीहरु घाइते भएको बताउँदै विज्ञप्तीमा घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।
नेकपा एस निकट विद्याथी संगठनको प्रदेश एक कमिटिले समेत अर्को विज्ञप्ती निकाल्दै घटनाको घोर भत्सना गरेको छ । प्रदेश कमिटिका अध्यक्ष राजु थाम्साङ्ग र सचिव सुमन दाहालद्धारा जारी विज्ञप्तीमा शैक्षिक माफिया सुनिल शर्मा र नोवेल कलेज प्रसाशनले विद्यार्थीहरुको भविश्यमाथि खेलवाड गरी विद्यार्थीको पठनपाठनमा अवरोध सिर्जना गरेमा तथा विद्यार्थी आन्दोलनलाई नजरअन्दाज गरेमा यस बावजुत उत्पन्न हुने परिणामका लागि तयार रहन चेतावनी समेत दिइएको छ ।

270461515_178151614513400_4469392309541925179_n
नोबेल शिक्षण अस्पतालले अतिरित्त शुल्कको रुपमा विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।
यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।