इटहरीः एमाले भित्र व्यक्तिवादी चरित्र हावी भएको भन्दै देशभरीबाटै सो पार्टीबाट विद्रोह गरि नेकपा एसमा प्रवेश गर्नेहरुको लहर चलिरहेको बेला प्रदेश नम्बर १ को बेलबारी नगरपालिकाकी जनप्रतिनिधिले सो पार्टीबाट विद्रोह गरि नेकपा एस पार्टी रोजेकी छन् ।

मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि खिनामाया थापा नेकपा एकिकृत समाजबादी पार्टी प्रवेश गरेकी हुन् । गएको स्थानीय तहको निर्वाचनमा बेलबारी नगरपालिका वडा नं २ बाट वडा सदस्यमा निर्वाचित थापा आइतबार नेकपा एकिकृत(समाजबादी)मा प्रवेश गरेकी हुन् ।

नेकपा एकिकृत(समाजबादी) मोरङ जिल्ला इन्चार्ज तथा पुर्व सांसद हर्कमान तामाङले थापालाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा एमालमा कम्युनिष्ट चरित्र हराउँदै गएर व्यक्तिवादी चरित्र हावी भएकोमा आफ्नो असन्तुष्टी रहेकोले समाजवादी प्रवेश गरेको थापाले बताएकी छन् । लामो समयदेखि एमालेमा संगठित भएर काम गरेको भएपनि पछिल्लो समयमा एमालेले पार्टी गतिविधिमा आफुलाई वेवास्ता गर्न थालेको समेत थापाको गुनासो थियो ।

थापा नेकपा एमाले र नेकपा माआवोदी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपाको बेलबारी वडा नम्बर २ की सहइन्चार्ज थिइन् । बेलबारी २ लालभित्ती स्थित पुर्वसांसद तामाङको निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका बेलबारी नगर इन्चार्ज कमल कोइराला, नगर अध्यक्ष भुपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।