इटहरीः सहमतीको प्रयास विफल भएपछि नेकपा एमाले सुनसरी जिल्लाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । इनरुवाको जेलमैदानमा जारी जिल्लाको सातौं महाधिवेशनमा संस्थापन पक्षका रेवतीरमण भण्डारी , खेमराज पोखरेल र १० बुँदे सहमतिपछि तटस्थ बसेका इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।
भण्डारी र चौधरी एमाले सुनसरीका पूर्व अध्यक्ष हुन् । पोखरेल महाधिवेशन आयोजक कमिटिका अध्यक्ष हुन् । सहमतिको प्रयास गरिएपनि नभएपछि ३ जनाले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । ३ जना मध्ये कसैले पनि उम्मेद्वारी फिर्ता नलिने स्रोतको दावी छ । ३ जना नै अध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएकाले यसले नै बाजी मार्छ भन्ने अनुमान गर्न नै कठिन भएको महाधिवेशन प्रतिनिधिहरुको भनाई छ ।
जिल्ला उपाध्यक्षका लागि तीन जनाकै उम्मेद्वारी दर्ता भएको छ । उपाध्यक्षका लागि प्रदेश सांसद समेत रहेका लिलम बस्नेत, बराहक्षेत्र नगरपालिका मेयर निलम खनाल र १० बुँदे तर्फबाट नन्दकुमार बस्नेतले उम्मेद्वारी दर्ता गराएका छन् । लिलम र निलम भने संस्थापन पक्षकै नेता हुन् । सचिव पदका लागि संस्थापन पक्षका पर्शुराम यादव र १० बुँदे तर्फबाट शत्रुघन यादवको उम्मेदवारी दर्ता भएको छ ।
दुई उप सचिव पदका लागि हुने निर्वाचनमा ७ जनाको उम्मेद्वारी परेको छ । सो पदका लागि राम कोइराला, पदम लिम्बु, अन्जनीकुमार पोखरेल, लहरुमाया जिमी , अर्जुन गहतराज, योग्योराज खड्का, लोकेश निरौंलाको उम्मेद्वारी दर्ता भएको छ । १ सय ३० सदस्य पदका लागि ३ सय ४५ जनाको उम्मेद्वारी दर्ता भएको छ । सोमबार(भोली) उम्मेद्वारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन तालिका अनुसार मतदान २७ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुने जिल्ला निर्वाचन कमिटीका संयोजक डा. गोबिन्द मिश्रले जानकारी दिए ।
सदस्य पदका लागि उम्मेदवारहरुको संख्या धेरै भएकाले एक उम्मेद्वारले अर्को उम्मेद्वारलाई चिन्न सक्ने अवस्था नभएको बताइएको छ । सदस्य पदका लागि मतदान गर्न गणनाका लागि निर्वाचन आयोगका पदाधिकारीहरुलाई समस्या हुने देखिएको बुझिएको छ ।