सुनसरीः प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले पञ्चायतकालमा कर्मचारीले कांग्रेसको विचारलाई साथ दिएको बताएका छन् । शनिवार नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिलेको परिवर्तनमा कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् ।
विचारको लडाइँमा जेल जान पनि तयार हुने पार्टीका कार्यकर्ता रहेको उल्लेख गर्दै कार्कीले अग्रजहरूले आफ्नो छातीमा गोली थापेर पञ्चायतको विरोध गरेको बताए । पछिल्लो समय कांग्रेस सही मार्गमा हिँड्न नसकेको उनको भनाई छ । ५० रुपैंया कमाउनकै लागि कांग्रेस बेच्न तथा अर्काको सदस्यता काट्ने प्रवृत्ति पार्टीमा बढेको कार्कीको भनाई छ ।
यस्तो प्रवृत्तिले कांग्रेस नचल्ने भन्दै उनले भने, बरु थोरै हौँ काग्रेर भएर बाँचौँ । विचार बाँच्यो भने मत आउँछ ।’ निर्वाचन जित्नकै लागि सबैसँग साठगाँठ गर्न नहुने उनको भनाई छ । ‘यस्तो र्गयौ भने कांग्रेस एक दिन विलय हुन सक्छ ।’ कार्कीले भने ।
कांग्रेसको १४ औँ महाधिवेशनमा डा.शेखर कोइरालाले पार्टीभित्र परिवर्तनको ढोका खोलिदिएको उनले बताए । उनले थपे ‘डा.शेखर कोइरालाले हिम्मत नगरेको भए कांग्रेसमा युवाको प्रवेश सम्भव थिएन ।’ चुनावमा हारजीत एउटा प्रक्रिया रहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धाले पार्टीको जीवनमा असर गर्न नहुनेमा उनले जोड दिएका छन् ।