इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका ७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन । बिहिबार राती साढे ७ बजे धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १ -०२-००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशा तर्फ जादै गरेको को २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यू भएको हो ।
ठक्कर दिने बस र चालक इटहरी ४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।