बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाले करार कर्मचारी छनौट गर्दा देखिएको असन्तुष्टिलाई वेवास्ता गरेको पाइएको छ । आफूहरूमा क्षमता र योग्यता हुँदाहुँदै पनि नगरपालिकाद्वारा नाताबाद हावी भएको भन्दै ५ जनाले निवेदन दिएका थिए । निवेदनमार्फत उनिहरूले सत्यतथ्य छानबिन गरि पुनः परीक्षा हुनुपर्ने माग राखेको भएपनि नगरपालिकाले त्यसको विरुद्धमा निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै भनेको छ,– ‘प्रयोगात्मक तथा अन्तर्वार्तामा सामेल निवेदकले परीक्षाको नतिजामा चित्त नबुझेको भनी दिएको निवेदनउपर छानबिन गर्दा साविक नतिजामा कुनै परिवर्तन नभएको जानकारी गराउँदछौ ।’
नगरपालिकाले आव्हान गरेको कर्मचारी दर्खास्तको सूचनामा फर्म भरेर प्रयोगात्मक परीक्षा दिएको तर आफूहरूभन्दा असक्षम व्यक्तिहरु छनौट गरिएको दावी गर्दै सत्यतथ्य छानबिन गर्नका निम्ति शेखर श्रेष्ठ, बिकाश कटवाल, लक्ष्मी राजधामी, अम्बिका कुलुङ र सीता दाहालले बराहक्षेत्र नगरपालिकामा निवेदन दिएका थिए । नगरपालिकाअन्तर्गतका कर्मचारी र जनप्रतिनिधिका आफन्त, इष्टमित्रलाई असक्षम हुँदाहुँदै छनौट गरिएको उनीहरुको आरोप थियो ।
पुनः परीक्षा गरेर आफूहरूमाथी परेको अन्यायलाई न्याय दिनुपर्ने निवेदकहरूको माग थियोे । निबेदन पेश भएको भोलिपल्ट नै राम ढकालको संयोजकत्वमा अरुणकुमार मेहेता र पबित्रा निरौला समितिका सदस्य हुनेगरी समिती गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा नगरले साविक नतिजामा हेरफेर नहुने निर्णय गरेको जनाइएको छ ।
यसैबीच बराहक्षेत्रका राजनीतिक दलहरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले पिडित भनिएका निवेदकको निवेदनउपर छानबिन गरिनेपर्ने बताएका थिए । पुनः परीक्षा हुनुपर्ने निवेदकको मागलाई नगरपालिकाले सम्बोधन गर्न सम्पूर्ण राजनीतिक दलको आग्रह गरेका थिए । यद्यपि नगरपालिकाले त्यसको विपरीत निर्णय गरेको छ ।