बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाले करारमा कर्मचारी नियुक्त गर्ने क्रममा नाताबाद र कृपावाद हाबी भएको भन्दै आएको असन्तुष्टि प्रति बराहक्षेत्रका राजनीतिक दलहरु जुर्मुराएका छन् । आफूहरूमाथी अन्याय भएकोबारे असन्तुष्ट आवेदकहरुले निबेदन दिएको १० दिन बितिसक्दा समेत नगरपालिका मौन रहेको भन्दै राजनीतिक दलहरु बोल्न थालेका हुन् ।
नगरपालिकाले आव्हान गरेको कर्मचारी दर्खास्तको सूचनामा फर्म भरेर प्रयोगात्मक परीक्षा दिएको तर आफूहरूभन्दा असक्षम व्यक्तिहरु छनौट गरिएको ठहर गर्दै पाँच आबेदकले नगरपालिका कार्यालयमा निवेदन पेश गरेका थिए । निबेदन गर्नेहरुमा सत्यतथ्य छानबिन गर्नका निम्ति शेखर श्रेष्ठ, बिकाश कटवाल, लक्ष्मी राजधामी, अम्बिका कुलुङ र सीता दाहाल रहेका छन् । उनीहरूले पुनः परीक्षा गरेर आफूहरूमाथी परेको अन्याय भएकाले न्याय दिनुपर्ने माग गरेका छन् । निबेदन पेश भएको भोलिपल्ट नै छानबिन समिती गठन गरिएपनी आजसम्म कुनै निर्णय हुन सकेको छैन् ।
नगरपालिकाअन्तर्गतका कर्मचारी र जनप्रतिनिधिका आफन्त, इष्टमित्रलाई असक्षम हुँदाहुँदै छनौट गरिएको बुझिएको छ । यसबारे बराहक्षेत्रका राजनीतिक दलहरुले एकै स्वरमा अन्यायमा परेकाहरुका लागि न्याय दिन आफुहरु लागि पर्ने बताएका छन् । उनिहरुले कर्मचारी नियुक्तीमा भएको फटाँइका बिषयमा यसरी साँझा धारणा समेत बनाएका छन् ।
नेपाली कांग्रेस
बराहक्षेत्र नगरपालिकाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस सन्दर्भमा सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराइसकेको छ । आसेपासेहरुलाई नियुक्त गर्नका लागि सोझासाझा युवाहरूमाथी नगरपालिकाले ज्याजती गरेको नगर सभापति रमेश कार्की बताउँछन् । उनले भनेका छन्, –प्रयोगात्मक परीक्षा लिएर आँखाकै अगाडी छलिएको छ, युवाहरू अन्यायमा परेकै हुन्, यस बिषयमा कांग्रेस चुप लागएर बस्दैन् । उत्पन्न विवादलाई समाधान गर्न आफूहरूले नगरपालिकालाई अल्टिमेटम दिइसकेको र सो अबधिभित्र निर्णय नभए चरणबद्ध नैतिक आन्दोलन गर्ने सभापति कार्कीको चेतावनी छ ।
नेकपा एमाले
सत्तारुढ दल नेकपा एमालेका नगर अध्यक्ष गजेन्द्र बहादुर थापाले स्थानीय सरकारले कर्मचारी नियुक्तिमा आजसम्म पार्टीसँग सहकार्य नगरेको बताएका छन् । उनले नगरपालिका र पार्टीबीचमा कुनै सहकार्य, छलफल र समन्वय नहुने गरेको प्रष्ट पारे । साथै, अध्यक्ष थापाले असन्तुष्ट आवेदकले पेश गरेको निबेदनको आधारमा छानबिन हुनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र बराहक्षेत्रका अध्यक्ष कमल बहादुर कार्कीले नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय जस्तो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,– ‘नगरपालिका एमालेको अखडा बाहेक अरु केही हुन सकेको छैन्, त्यसैले कर्मचारी नियुक्तिमा आफ्ना मान्छे छनौट गर्नु नौलो कुरा हैन ।’उत्पन्न विषयको उचित समाधानका लागि भने नगरपालिकाले सर्वदलीय बैठक राखेर टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
राप्रपा बराहक्षेत्रले नगरपालिकाले गरेको यस कार्य निन्दनीय भएको बताएको छ । यसैबीच नगर अध्यक्ष अर्जुन भट्टराईले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि सर्वदलीय बैठक राख्नुपर्ने तर्क गरेका छन् । उनले न्यायका लागि गर्नुपर्ने सहयोग गर्न राप्रपा तत्पर रहेको स्पष्ट पारे ।
जनता समाजवादी पार्टी
जसपाका नगरअध्यक्ष नरेश राईले स्थानीय सरकारले गर्ने हरेक सकारात्मक र नकारात्मक क्रियामा आफूहरु नियालिरहेको बताए । यससन्दर्भमा पनि जसपाले चाडै नै आफ्नो पार्टीको बैठक बस्ने र बैठकपश्चात् के गर्ने भनी कार्ययोजना तयार गर्ने जनाए ।
नेकपा एकीकृत समाजवादी
नेकपा एस बराहक्षेत्रका नगर अध्यक्ष चन्द्र मगरले स्थानीय सरकारले चालेको यो कदमप्रति सबै सहज निकायहरुले आवाज बुलन्द गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीको तर्फबाट सक्नेखाले पहल गर्ने जनाए । उनले भनेका छन्, –‘न्यायका लागि जुनसुकै ठाउँमा जस्तोसुकै सहयोग गर्न सक्छौ ।’साथै उनले आफ्नो पार्टीको बैठकपछि नगरपालिकालाई ध्यानाकर्षण गराउने पनि प्रतिबद्धता जनाएका छन् ।