इटहरी :धरान उपमहानगर पालिकाले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा धरान आइपुगेका छन् ।
हेलिकप्टरमार्फत झण्डै साढे १० बजे धरान आइपुगेका प्रधानमन्त्री देउवा धरान १६ स्थित स्टेडियममा ल्याण्ड भएका छन् । प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था सोमबार साँझदेखि नै कडा पारिएको बताइएको छ । प्रधानमन्त्रीको कार्यक्रम रहने स्थान, त्यहाँसम्मको चोक र सडकमा प्रहरी, सशस्त्र परिचालित भएका छन् ।
प्रद्यानमन्त्री देउवाले धरान २ स्थित रहेको कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ भने धरान ६ पानवारीमा निर्माण सम्पन्न भएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन समेत गरिने छ ।
धरान उपमहानगर पालिको मनाउन लागेको धरान स्थापना दिवसको पर्व धरान डे को समेत अवलोकन गरिने कार्यक्रम रहेको बताइएको छ ।पानबारीमा निर्माण भएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको स्मार्ट बसपार्कको अवलोकन गर्ने र बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
धरान डे उत्सवको औपचारिक कार्यक्रमको उद्घाटन भने दिउँसो १ बजे धरान प्रधानमन्त्री देउवाले गर्नेछन् । काँग्रेस सभापति समेत रहेका देउवालाई उत्सवको उद्घाटनको लागि धरान नगरप्रमुख निमन्त्रणा गरेका हुन ।धरान डे को उत्सव धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगणमा हुने आयोजकले बताएका छन् । धरान उपमहानगरपालिकाले धरान स्थापना दिवस (धरान डे) को अवसरमा आज धरान क्षेत्रमा सार्वजनिक विदासमेत दिएको छ । धरानमा आजदेखि २३ गतेसम्म तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ । काँगे्रसको भवन उद्घाटन र धरान डे को अवसर पारेर धरान आएका देउवाले अवसरको सदुपयोग गरेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन् र बसपार्कको अवलोकन गर्ने कार्यक्रममा सरिक हुने भएका हुन ।