बराहक्षेत्रः सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद जगदीश कुसियतले सप्तकोसी बहुमुखी क्याम्पसका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन सप्तकोसी बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै सांसद कुसियतले आफ्नो व्यक्तिगत तर्फबाट क्याम्पसका जेहेन्दार विद्यार्थीलाई एक वर्ष निः शुल्क अध्यापनको लागि छात्रवृति प्रदान गरि सहयोग गर्ने बताएका हुन् ।
प्रदेश एकका पूर्व बन, वातावरण तथा पर्यटनमन्त्री समेत रहेका कुसियतले सांसद निर्वाचन क्षेत्र बिकास कोषमार्फत ५० लाख क्याम्पसलाई विनियोजन समेत गरेका छन् ।
त्यस्तै, बराहक्षेत्र नगरप्रमुख निलम खनालले समेत आफ्नो व्यक्तिगत तर्फबाट ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
अनेरास्ववियु क्याम्पस कमिटीको पहलमा तीस हजार मूल्य बराबरको किताब, १० जनालाई बार्षिक छात्रवृत्ति र ५५ वटा गमला प्रदान गरिएको छ ।
यसअघि गत पौष ११ गते नेपाल सरकारका सूचना, प्रबिधि तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समेत ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने बताएका थिए । नेताहरूको एकपछी अर्को सहयोग गर्ने प्रतिबद्धताले क्याम्पसको स्तरउन्नतिमा टेवा पुग्ने देखिएको छ ।
आज (सोमबार) क्याम्पस भवनमा आयोजित उक्त कार्यक्रममा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सुरज भट्टराईले सभापतित्व गरेका थिए भने पुर्वमन्त्री जगदीश कुसियतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष रोशन रेग्मीले अनेरास्ववियुको औचित्य र योगदानबारे बोलेका थिए भने क्याम्पस प्रमुख खगेन्द्र निरौलाले सहयोगी मनहरुमा आभार प्रकट गर्दै सबैको सहयोगले मात्र क्याम्पसको चौतर्फी बिकासमा टेवा पुग्ने बताएका छन् । यसरी नेताहरुमा एकअर्काको सहयोग गर्ने सकारात्मक टकराबले प्रत्यक्ष क्याम्पस र विद्यार्थीहरु भने वास्तविक लाभान्वित बनिरहेका छन् ।
फरक सन्दर्भमा बोल्दै सांसद कुसियतले आगामी स्थानीय चुनावको संकेत गर्दै नेकपा एमालेका तर्फबाट पुनः निलम खनाललाई जिताउन बराहक्षेत्रबासीमाझ आग्रह समेत गरेका छन् ।कार्यक्रमको संचालन अनेरास्ववियु क्याम्पस कमिटी सचिव सुदीप थापाले गरेका थिए भने उपाध्यक्ष चित्रमान राईले स्वागत मन्तव्य राखेका थिए ।